पेट्रोल र डिजेल/मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि, आज मध्यरातदेखि लागू

lawanyasandesh.com

साँखु,काठमाडौं । नेपाल आयल निगम लिमिटेड ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरेको जनाएको छ। नयाँ मूल्य आज राति १२:०१ बजेदेखि लागू हुनेछ।
निगमका अनुसार मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य उच्च आएपछि स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्नुपर्ने अवस्था आएको निगमले जनाएको छ।



निगमले पछिल्लो १५ दिनमा मात्रै करिब ५ अर्ब रुपैयाँ घाटा हुने देखिएको र मूल्य वृद्धि यथावत रहे आगामी १५ दिनमा थप १५ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ। मार्च ९ देखि मार्च २४ सम्म पेट्रोलको खरिद मूल्य प्रतिलिटर ८.७६ रुपैयाँ र डिजेलमा ६.१४ रुपैयाँले बढेको विज्ञप्तिमा उल्लेख छ।
नयाँ समायोजनपछि पेट्रोलको मूल्य पहिलो वर्गमा १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल/मट्टीतेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ निर्धारण गरिएको छ।
निगमले मूल्य स्थिरीकरण कोष प्रयोग गरेर सीमित वृद्धि गरिएको जनाउँदै अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा तत्काल समायोजन गरिने जनाएको छ। साथै उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया