गुरुङ परिवारको सम्पत्ति विवरण खुलासा: बैंक ब्यालेन्स, सवारी र सुनसम्मको विवरण सार्वजनिक

lawanyasandesh.com

सँखु,काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको विस्तृत सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गुरुङ र उनको परिवारको नाममा उल्लेख्य परिमाणमा जग्गा, सेयर लगानी, बैंक मौज्दात, सवारी साधन तथा पैतृक सुन रहेको देखिएको छ।

सार्वजनिक विवरणअनुसार गृहमन्त्री गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ। त्यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा रहेको उल्लेख छ। अझ उल्लेखनीय रूपमा उनका बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी विशाल जग्गा रहेको देखिन्छ।

सेयर बजारमा पनि गुरुङको लगानी उल्लेखनीय रहेको छ। होप होल्डिङ प्रालिको ३० हजार कित्ता र लगुम प्रिमियर अपार्टमेन्टको ५७ हजार कित्ता सेयर उनको नाममा रहेको छ। धितोपत्र बजारमा सूचीकृत विभिन्न कम्पनीहरूमा गरिएको लगानीको कुल मूल्य २ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुगेको विवरणमा उल्लेख छ। साथै, एडभेन्चेर भिल्ला प्रालिको ७० हजार कित्ता सेयर (करिब ७० लाख रुपैयाँ बराबर) पनि उनले आफ्नो सम्पत्तिमा समावेश गरेका छन्।

सवारी साधनतर्फ गुरुङसँग लगुम प्रिमियर अपार्टमेन्ट अन्तर्गत एक थान कार रहेको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

बैंक मौज्दाततर्फ लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार रुपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ र सानिमा बैंकमा १५ सय रुपैयाँ रहेको उल्लेख गरिएको छ। यसका अतिरिक्त, गुरुङसँग ८९ तोला सुन रहेको छ, जसलाई पैतृक सम्पत्तिको रूपमा विवरणमा उल्लेख गरिएको छ।

सम्पत्ति विवरण सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङको आर्थिक अवस्था, लगानी प्रवृत्ति तथा पारिवारिक सम्पत्तिको दायरा स्पष्ट रूपमा बाहिर आएको छ।

प्रतिक्रिया