काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको विवरणमा उनको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको देखिएको छ।
सार्वजनिक विवरणअनुसार शाहको मुख्य आयस्रोत डिजिटल प्लेटफर्महरू रहेका छन्। उनले Facebook, YouTube र Spotify बाट आम्दानी हुने उल्लेख गरेका छन्। साथै उनले आफ्ना सामाजिक सञ्जालका फलोअर संख्यालाई पनि सम्पत्तीको एक भागको रूपमा प्रस्तुत गरेका छन्।
सम्पत्ती विवरणमा पारिवारिक सम्पत्ती पनि उल्लेख गरिएको छ। शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं महानगरपालिका वडा नं. ९ मा ५ आना जग्गा तथा धनुषामा १ दशमलव २ बिघा जग्गा रहेको छ। त्यस्तै उनका बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको जनाइएको छ।
शाहले आफ्नी पत्नी सवितासँग संयुक्त रूपमा करिब ९० तोला सुन रहेको खुलाएका छन्, जसको स्रोत पैतृक भएको उल्लेख गरिएको छ।
सम्पत्ती विवरण सार्वजनिक गर्नु पारदर्शिता र जवाफदेहिताको अभ्यासका रूपमा लिइएको छ। डिजिटल प्लेटफर्ममार्फत आम्दानी गर्ने प्रधानमन्त्रीको उदाहरणले आधुनिक प्रविधिको प्रयोग र व्यक्तिगत ब्रान्डिङको प्रभावसमेत उजागर गरेको विश्लेषकहरू बताउँछन्।