शंखरापुरमा ‘हाम्रो प्रहरी’ कार्यक्रम अन्तर्गत आत्महत्या न्यूनीकरण, मानसिक स्वास्थ्य सचेतना र सडक सुरक्षामा विशेष जोड

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएको ‘हाम्रो प्रहरी’ अभियानअन्तर्गत शंखरापुर नगरपालिका–९ स्थित इन्द्रायणी चोकमा शुक्रबार बृहत् जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। शान्तिपूर्ण, सुरक्षित तथा जिम्मेवार समाज निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा आत्महत्या न्यूनीकरण, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा सडक सुरक्षासम्बन्धी विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको थियो।


सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, शंखरापुर–७, साँखु काठमाण्डौंको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीयवासी, सवारीचालक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा करिब १२५ देखि १५० जनासम्मलाई सचेतनामूलक जानकारी प्रदान गर्दै सूचीकृत गरिएको आयोजकले जनाएको छ।

आत्महत्या रोकथाममा समुदायको भूमिका महत्वपूर्ण

कार्यक्रममा आत्महत्या केवल व्यक्तिगत समस्या नभई सामाजिक, पारिवारिक तथा मानसिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको रोकथाममा परिवार, समुदाय र सरोकारवाला निकायको साझा जिम्मेवारी रहने विषयमा जोड दिइएको थियो।

सहभागीहरूलाई आत्महत्याको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई एक्लै नछाड्न, उनीहरूसँग निरन्तर सम्पर्क र संवाद कायम राख्न तथा आवश्यक भावनात्मक सहयोग उपलब्ध गराउन आग्रह गरिएको थियो। जीवनप्रति वितृष्णा, अत्यधिक निराशा, आत्मग्लानि वा आत्महत्यासम्बन्धी सोच देखिएमा तत्काल मनोपरामर्शदाता वा स्वास्थ्यकर्मीको सहयोग लिन प्रोत्साहित गरिएको थियो।

त्यस्तै, कीटनाशक, औषधि तथा अन्य जोखिमयुक्त सामग्री सुरक्षित रूपमा राख्न, व्यवहारगत परिवर्तनहरूलाई समयमै पहिचान गर्न तथा समस्यामा परेका व्यक्तिलाई सहयोगी वातावरण सिर्जना गर्न समुदायलाई सचेत गराइएको थियो।


सडक सुरक्षा र ट्राफिक नियम पालनामा जोड

कार्यक्रममा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना अपरिहार्य रहेको उल्लेख गर्दै सवारीचालकहरूलाई गति नियन्त्रण गर्न, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग गर्न, मदिरा वा लागू पदार्थ सेवन गरी सवारी नचलाउन तथा सडक अनुशासन कायम राख्न आग्रह गरिएको थियो।

यस अवसरमा सहभागी सवारीचालक तथा स्थानीयवासीहरूलाई ट्राफिक नियमसम्बन्धी जानकारीमूलक पर्चा–पम्प्लेट वितरण गरी सुरक्षित यात्रासम्बन्धी सचेतना अभिवृद्धि गरिएको थियो।

यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुने

सामुदायिक प्रहरी सेवा केन्द्र साँखुकी प्रमुख बिजया पौडेल भण्डारीले समुदायमा देखिएका सामाजिक समस्या, आत्महत्या न्यूनीकरण, लागुऔषध दुव्र्यसन नियन्त्रण, महिला तथा बालबालिकाको सुरक्षा र सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरू सामुदायिक प्रहरी तथा प्रहरी प्रभाग साँखुको संयुक्त पहलमा निरन्तर सञ्चालन गरिने बताउनुभयो।

उहाँले नागरिक र प्रहरीबीचको सहकार्य बलियो भए मात्र सुरक्षित समाज निर्माण सम्भव हुने उल्लेख गर्दै समुदायका सबै वर्गलाई यस्ता अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

आपतकालीन सम्पर्क नम्बर सार्वजनिक

कार्यक्रममा आपतकालीन अवस्था, सुरक्षा समस्या, दुर्घटना वा अन्य जानकारी तथा गुनासोका लागि नागरिकहरूले निम्न नम्बरहरूमा सम्पर्क गर्न सक्ने जानकारी समेत प्रदान गरिएको थियो–

प्रहरी कन्ट्रोल : १००

ट्राफिक कन्ट्रोल : १०३

प्रहरी प्रभाग, साँखु : ९८५१२८३००५

प्रहरी प्रभाग, साँखु प्रमुख : ९८५१२८८००५

सामुदायिक प्रहरी सेवा केन्द्र, साँखु : ९८५१२८६७००

कार्यक्रमले आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य प्रवर्द्धन, सडक सुरक्षा तथा नागरिक–प्रहरी सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। ‘हाम्रो प्रहरी’ अभियानमार्फत समुदायस्तरमा सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रमहरूले सामाजिक उत्तरदायित्व र सामूहिक सुरक्षाको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया