कांग्रेसमा 'ग्रान्ड रिफर्म' को उद्घोष: गगन थापा भन्छन्– ‘अब चिन्ता होइन, चिन्तन गरौँ’

lawanyasandesh.com

साँखु, काठमाण्डौं।नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछिको मौनता तोड्दै पार्टीभित्र 'ग्रान्ड रिफर्म' (बृहत् सुधार) को योजना अघि सारेका छन् । आइतबार दाङको भालुवाङमा आयोजित लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीको आन्तरिक संरचना, सदस्यता प्रणाली र राष्ट्रिय राजनीतिबारे अर्थपूर्ण सन्देश दिएका हुन् ।
चिन्ता होइन, चिन्तन गरौँ
निर्वाचनको परिणाम अपेक्षित नभए पनि त्यसैलाई लिएर पछुताउनुको सट्टा भविष्यको मार्गचित्र कोर्नुपर्नेमा थापाले जोड दिए । "निर्वाचनको परिणाम अपेक्षित भएन, यो सत्य हो । तर अब चिन्ता गर्ने कि चिन्तन गर्ने भन्ने मुख्य कुरा हो," थापाले भने, "चिन्ताले निराशा ल्याउँछ, तर चिन्तनले समाधान र भविष्यमुखी बाटो देखाउँछ ।" उनले चुनाव सार्नुपर्ने बहस अब निरर्थक रहेको भन्दै संविधान जोगाउनु र देशलाई द्वन्द्वबाट बचाउनु नै कांग्रेसको उपलब्धि भएको दाबी गरे ।
रास्वपा सरकार र नागरिक अधिकार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारबारे टिप्पणी गर्दै थापाले सरकारले गर्ने संविधानसम्मत र असल काममा कांग्रेसको शतप्रतिशत सहयोग रहने स्पष्ट पारे । यद्यपि, नागरिक अधिकार खोस्ने वा संविधानविपरीतका कार्य भएमा प्रमुख प्रतिपक्षी दलको हैसियतले कडा प्रतिरोध गर्ने उनले चेतावनी दिए ।
प्रदेश सरकारमा फेरबदलको संकेत
थापाले अबको एक वर्ष स्थानीय र प्रदेश सरकारका लागि अन्तिम अवसर भएको भन्दै कार्यशैली नफेर्ने सरकारहरू परिवर्तन हुन सक्ने संकेत गरे । "पुरानै ढर्राले अब सरकार चल्दैन । प्रदेश सरकारमा बस्ने–नबस्ने वा को-सँग मिलेर जाने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ," उनले भने, "मन्त्री वा पालिका अध्यक्ष हुनु मात्र ठूलो कुरा होइन, अब नतिजा दिनैपर्छ ।"
पार्टी सुधार र सदस्यताको नयाँ मोडेल
पार्टीलाई नयाँ जीवन दिन सदस्यता प्रणालीलाई डिजिटल र पारदर्शी बनाइने थापाले घोषणा गरे । अबदेखि प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने र नवीकरण नगर्नेले महािवेशनमा भाग लिन नपाउने कडा व्यवस्था लागू गर्न लागिएको उनले जानकारी दिए । उनले भने, "१७ लाख मानिस कांग्रेसको साथमा छन्, उनीहरूलाई व्यवस्थित गर्न वडा तहदेखि नै पूर्वाग्रहरहित सदस्यता वितरण सुरु हुनेछ ।"
आगामी रणनीति र कार्यतालिका
सभापति थापाले वैशाख २ गते बस्ने कार्यसम्पादन समितिको बैठकले करिब १०–१२ वटा महत्त्वपूर्ण निर्णयहरू लिने बताए । साथै, वैशाख ४ गतेभित्र संसदीय दलको नेता छान्ने प्रक्रिया टुङ्गिने र त्यसपछि आफू ७७ वटै जिल्लाको भ्रमणमा निस्कने उनले उद्घोष गरे । "म जिल्ला-जिल्लामा आउँछु, बस्छु र पुराना तथा नयाँ सबै पुस्तालाई मिलाएर कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेछु," उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया