साँखु,काठमाण्डौं।नेपाल तरुण दल को केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन्। नेपाली कांग्रेस ले भ्रातृ संगठनको नेतृत्वलाई पुनः सक्रिय बनाउने उद्देश्यसहित कोइरालालाई अध्यक्षको जिम्मेवारी दिएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापा ले काठमाडौँ निवासी कोइरालालाई तरुण दलको अध्यक्ष पदमा नियुक्त गरेका हुन्। पार्टीले आइतबार औपचारिक रूपमा उक्त निर्णय सार्वजनिक गरेको जनाएको छ।
कांग्रेसले म्याद समाप्त भएर स्वतः विघटनको अवस्थामा पुगेको तरुण दललाई पुनर्गठन गर्दै संगठनलाई गतिशील बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको बताएको छ। पार्टीका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम कोइरालालाई अध्यक्ष पदमा नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्ष कोइरालालाई तोकिएको समयसीमाभित्र तरुण दलको महाधिवेशन सम्पन्न गराउने मुख्य जिम्मेवारी दिइएको छ। त्यसका लागि पार्टीले उनलाई ९ बुँदे कार्यादेश (टर्म्स अफ रेफरेन्स) सहित संगठन विस्तार, सदस्यता व्यवस्थापन, जिल्ला तथा प्रदेश संरचना सक्रिय बनाउने लगायतका जिम्मेवारी तोकेको जनाएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा तरुण दललाई पुनर्जीवन दिँदै संगठनलाई सशक्त र चलायमान बनाउने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको उल्लेख गरिएको छ।
तरुण दल लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेकाले संगठनभित्र महाधिवेशनको माग चर्किंदै आएको थियो। नयाँ नेतृत्व नियुक्तिसँगै अब तरुण दलको महाधिवेशन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।