साँखु, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। शीतल निवासमा आज आयोजित कार्यक्रममा ७८ वर्षीय केसीले शपथ लिनुभएको हो।
गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २७५ सांसदमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सदस्य निर्वाचित भएका छन्। नेपाली कांग्रेसका नेता केसी समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा पुग्नुभएको हो।
ज्येष्ठ सदस्य केसीले भोलि बिहीबार नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। सभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठक पनि केसीले नै अध्यक्षका रूपमा सञ्चालन गर्नेछन्।
सांसदहरूको शपथपछि १३ गते शुक्रबार बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यतालिका यसअघि नै तय भइसकेको जनाइएको छ।
फागुन २१ को निर्वाचनबाट निर्वाचित सांसदहरूको शपथसँगै प्रतिनिधिसभाको औपचारिक कामकारबाही सुरु हुने भएको छ।