साँखुमा कार र स्कुल बस ठोक्किए, मानवीय क्षति भएन

lawanyasandesh.com

शंखरापुर, काठमाडौं — शंखरापुर नगरपालिका–५ स्थित बहादुरको घरअगाडिको घुम्तीमा बुधबार दुई वटा सवारीसाधन आपसमा ठोक्किँदा दुवै सवारीमा क्षति पुगेको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन।


स्थानीयका अनुसार बागमती प्रदेश ०१–००४ क १२६४ नम्बरको स्कुल बस र प्रदेश नं. ३ अन्तर्गतको BAA ११५८ नम्बरको कार साँघुरो सडकको घुम्तीमा एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा कारको अगाडिको भाग तथा बसको अगाडिको भागमा क्षति पुगेको छ।

दुर्घटनामा दुवै सवारीमा रहेका यात्रु तथा अन्य व्यक्ति सकुशल रहेको प्रत्यक्षदर्शी जीवनलाल श्रेष्ठले जानकारी दिनुभयो। दुर्घटनापछि केही समय सडकमा सवारी आवागमन प्रभावित हुँदा जामसमेत भएको थियो।


घटनाबारे स्थानीयले तत्कालै प्रहरी प्रभाग साँखुलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले दुवै सवारीका चालकलाई आवश्यक अनुसन्धान तथा घटनाको वास्तविक कारणबारे छलफलका लागि प्रहरी चौकी साँखु लगेको अर्का प्रत्यक्षदर्शी ममता श्रेष्ठले बताउनुभयो।


स्थानीयवासीले साँखु क्षेत्रका साँघुरा सडक तथा घुम्तीहरूमा सवारीसाधनको गति नियन्त्रण गर्न र सावधानीपूर्वक आवागमन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया