काठमाण्डौं डाँछीमा EV माइक्रोको ठक्करबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

lawanyasandesh.com

शंखरापुर, काठमाडौँ — काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीस्थित बाघधारा सडकखण्डमा विद्युतीय (EV) माइक्रोबसको ठक्करबाट एक वृद्ध गम्भीर घाइते भएका छन्।


बिहीबार अपराह्न करिब ४ बजे भएको दुर्घटनामा डाँछीका ६८ वर्षीय शङ्कर कुइँकेल गम्भीर घाइते हुनुभएको हो। स्थानीयका अनुसार बाटो काट्ने क्रममा तीव्र गतिमा आएको गोल्डेन बासुकी यातायातद्वारा सञ्चालित बागमती प्रदेश ०१–००२ ज ९५८८ नम्बरको EV माइक्रोबसले कुइँकेललाई ठक्कर दिएको थियो।


दुर्घटनालगत्तै स्थानीयवासी तथा प्रहरीले घाइते कुइँकेललाई उद्धार गरी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा पुर्‍याएका थिए। अस्पताल स्रोतका अनुसार उहाँको अवस्था गम्भीर रहेको तथा उपचार भइरहेको जानकारी दिए।

दुर्घटनापछि घटनास्थलमा तनावको अवस्था सिर्जना भएको छ। आक्रोशित स्थानीयले दुईवटा सवारीसाधनका शिशा फुटालिदिएका छन् भने घटनास्थलमा ठूलो संख्यामा प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी थप बलसहित खटिएको जनाइएको छ।


स्थानीयले भने घटनामा संलग्न चालकलाई कानुन बमोजिम कडा र निर्मम कारबाही हुनुपर्ने माग गर्दै आन्दोलनसमेत गरिरहेका छन्।

प्रहरी प्रभाग साँखु तथा प्रहरी चौकी थलीको टोलीले दुर्घटनामा संलग्न माइक्रोबसका चालकलाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धान तथा सवारीसाधन सुरक्षित राख्ने प्रयोजनका लागि चालक र माइक्रोबसलाई प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ।


घटनाबारे थप अनुसन्धान भइरहेको र दुर्घटनाको कारण तथा चालकको लापरबाहीबारे समेत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया