साँखु,काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का ले पार्टीभित्र विगतमा गरिएको विशेष महाधिवेशन र त्यसपछिका आन्तरिक राजनीतिक घटनाक्रमकै कारण नेपाली कांग्रेसको जनाधार कमजोर बन्दै गएको टिप्पणी गर्नुभएको छ। उहाँले यही कमजोरीको प्रत्यक्ष राजनीतिक लाभ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उठाएको दाबी गर्नुभयो।
काठमाडौँमा आयोजित नेपाली कांग्रेससम्बद्ध एक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खड्काले पार्टीले विगतका गल्तीहरूको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले आफू पनि विगतका निर्णयहरूको जिम्मेवारीबाट अलग नरहेको स्पष्ट गर्दै पार्टी कमजोर हुनुमा नेतृत्व तहकै भूमिका रहेको स्वीकार गर्नुभयो।
उहाँका अनुसार एक समय नेपाली कांग्रेस संसद्को सबैभन्दा प्रभावशाली शक्तिका रूपमा स्थापित थियो। त्यसबेला कांग्रेसको प्रतिनिधिसभामा ५० देखि ६५ सिटसम्म प्रभाव रहने, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३१ देखि ३५ सिटको हाराहारीमा रहने र माओवादी शक्तिहरू १५ देखि २५ सिटको दायरामा सीमित रहने अवस्था रहेको उहाँले स्मरण गर्नुभयो। तर, समयक्रममा पार्टीभित्र बढेको गुटबन्दी, असन्तुष्टि, नेतृत्व संघर्ष तथा विशेष महाधिवेशनजस्ता निर्णयहरूले कांग्रेसको राजनीतिक धरातल कमजोर बन्दै गएको उहाँको भनाइ थियो।
“विशेष महाधिवेशनका कारणले, जे–जे कारणले भए पनि, कांग्रेस कमजोर बन्यो। म आफ्ना कमजोरी स्वीकार गर्न तयार छु। तर त्यही प्रक्रियाबाट उत्पन्न विभाजन र अस्थिरताले आज रास्वपालाई बलियो बन्ने अवसर दियो,” खड्काले कार्यक्रममा भन्नुभयो।
उहाँले पार्टी नेतृत्वले समयमै एकता, संगठन सुदृढीकरण र कार्यकर्ताको मनोबल जोगाउने दिशामा काम गर्न नसक्दा जनतामा कांग्रेसप्रति निराशा बढेको पनि संकेत गर्नुभयो। पछिल्ला निर्वाचन परिणाम, राजनीतिक समीकरण र सरकार निर्माण प्रक्रियाले समेत कांग्रेसको कमजोर अवस्थालाई उजागर गरेको उहाँको भनाइ थियो।
खड्काले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले आत्मसमीक्षा गरेर पुनः वैचारिक स्पष्टता, संगठनात्मक एकता र जनविश्वास पुनर्स्थापना गर्नुपर्नेमा जोड दिनुभयो। “पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा र एकअर्कालाई समाप्त पार्ने प्रवृत्तिले अन्ततः समग्र कांग्रेसलाई नै क्षति पुर्यायो,” उहाँले भन्नुभयो।
कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि कांग्रेसभित्र देखिएको वैचारिक अन्योल, नेतृत्वबीचको अविश्वास र संगठनात्मक कमजोरीका कारण पार्टी अपेक्षाअनुसार अघि बढ्न नसकेको धारणा राखेका थिए। उनीहरूले आगामी दिनमा कांग्रेसले जनताको भरोसा पुनः जित्न व्यापक सुधार र एकताको आवश्यकता रहेको बताएका थिए।
पछिल्लो समय नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन, नेतृत्व परिवर्तन, गठबन्धन राजनीति र संगठनात्मक दिशा सम्बन्धी बहस पुनः तीव्र बन्दै गएको सन्दर्भमा नेता खड्काको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।