शंखरापुरमा फेरि रासायनिक मल वितरण, तर कृषकमा पुरानै प्रश्न — “पर्याप्त मल कहिले?”

lawanyasandesh.com

साँखु काठमाण्डौं ।

शंखरापुर नगरपालिका वडा नं. ७ मा कृषकहरूलाई लक्षित गर्दै रासायनिक मल वितरण गरिने भएको छ। वडा कार्यालयको समन्वयमा भविष्य कृषि सहकारी संस्था लिमिटेड मार्फत कृषकहरूलाई मल उपलब्ध गराउने तयारी गरिएको भए पनि यस पटक पनि वितरणको परिमाणलाई लिएर कृषक तहमा मिश्रित प्रतिक्रिया देखिएको छ।


वडा कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार २०८३ जेठ १ गते बिहान ११:०० बजेदेखि धुँल्लाटोलमा रासायनिक मल वितरण कार्यक्रम सञ्चालन हुनेछ। कृषकहरूले तोकिएको स्थानमा उपस्थित भई प्रति कृषक युरिया २५ किलो र डीएपी २५ किलो मल प्राप्त गर्न सक्नेछन्। मल लिनका लागि कृषकहरूले अनिवार्य रूपमा आफ्नो कृषि कार्ड साथमा ल्याउनुपर्ने जनाइएको छ।

तर स्थानीय कृषकहरूले भने वर्षौंदेखि मल अभावको समस्या पूर्ण रूपमा समाधान हुन नसकेको गुनासो गर्दै आएका छन्। स्थानीय तहको निर्वाचनताका हालका नगर प्रमुख रमेश नापितले कृषकलाई मलको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै केही कृषकहरूले व्यवहारमा अपेक्षाअनुसार सुधार नदेखिएको बताएका छन्।

स्थानीय किसानहरूको भनाइ अनुसार विगत केही वर्षदेखि १० किलो, २५ किलो जस्ता सीमित परिमाणमा हुने वितरणले वास्तविक कृषि आवश्यकतालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको अनुभव रहेको छ। विशेषगरी खेतीको मुख्य समयमा पर्याप्त परिमाणमा मल उपलब्ध नहुँदा कृषकहरू बजार, निजी स्रोत वा वैकल्पिक व्यवस्थामा भर पर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।

कृषकहरूका अनुसार सानो परिमाणमा मल वितरणले तत्काल राहत त दिन सक्छ, तर दीर्घकालीन समाधान भने हुन नसक्ने उनीहरूको धारणा छ। उनीहरूले खेतीयोग्य क्षेत्रफल र आवश्यकताको आधारमा पर्याप्त तथा समयमै मल उपलब्ध गराउने दिगो व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेका छन्।

कृषि उत्पादनलाई नगरको आर्थिक आधारसँग जोडेर हेर्ने हो भने समयमै पर्याप्त मल उपलब्ध गराउने व्यवस्था केवल वितरण कार्यक्रम मात्र नभई कृषकको उत्पादन, आय वृद्धि र कृषि आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएको विषय भएको स्थानीयको भनाइ छ।

प्रतिक्रिया