साँखु, काठमाण्डौं। बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय, बागमतीले उत्कृष्ट महिला सहकारी संस्थाहरू छनोट गर्न प्रस्ताव आह्वान गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार “महिला सहकारी संस्थालाई क्षमता विकास/प्रोत्साहन/सहयोग कार्यक्रम” कार्यान्वयन गर्न यस्तो सूचना प्रकाशित गरिएको हो।
यसैबीच शंखरापुर नगरपालिका वडा नं. ४ कार्यालय ले उक्त सूचना आफ्ना वडाबासीहरूको जानकारीका लागि सार्वजनिक गरेको छ। वडा कार्यालयले चैत ५ गते आफ्नो फेसबुक पेजमार्फत सूचना प्रकाशन गर्दै योग्य महिला सहकारी संस्थाहरूलाई तोकिएको समयभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको जनाएको छ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार निर्धारित मापदण्ड पूरा गरेका इच्छुक महिला सहकारी संस्थाहरूले सूचना प्रकाशित मितिले १५ दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित स्थानीय तहमार्फत प्रस्ताव पेश गर्नुपर्नेछ।
प्रस्तावसँगै सहकारी दर्ता तथा नवीकरण प्रमाणपत्र, संस्थाको विधान, स्थायी लेखा नम्बर (PAN) र कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, पछिल्ला दुई वर्षका साधारण सभा माइन्युट, जनशक्ति विवरण, निर्वाचनसम्बन्धी अभिलेख, संस्थाको पूँजी तथा भौतिक पूर्वाधारको अवस्था लगायतका कागजात अनिवार्य रुपमा पेश गर्नुपर्नेछ।
यसैगरी, समितिका बैठक अभिलेख, व्यवसायिक समूह विकाससम्बन्धी विवरण तथा विगत दुई वर्षमा मन्त्रालयबाट सहयोग प्राप्त नगरेको स्वघोषणा समेत आवश्यक पर्नेछ।
स्थानीय तहले प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गरी एक वा सोभन्दा बढी संस्थालाई छनोट गरेर १५ दिनभित्र सामाजिक विकास कार्यालयमा सिफारिस गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यस कार्यक्रमअन्तर्गत प्रत्येक उत्कृष्ट महिला सहकारी संस्थालाई रु. ८०,०००/- बराबरको अनुदान प्रदान गरिने व्यवस्था गरिएको छ, जसले संस्थागत सुदृढीकरण, क्षमता विकास तथा आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।