शंखरापुर,काठमाण्डौं। शंखरापुर,काठमाण्डौं। श्रावण कृष्ण चतुर्दशी अर्थात् घण्टाकर्ण तथा गठेमङ्गल पर्व ऐतिहासिक साँखुमा आफ्नै मौलिक धार्मिक, सांस्कृतिक र सामाजिक परम्परासहित मंगलबार धुमधामका साथ मनाइएको छ।
काठमाडौँ उपत्यकाका विभिन्न नेवा बस्तीमा मनाइने गठेमङ्गल साँखुमा भने राक्षसको प्रतीक विसर्जन, सौपा फाल्ने, पुखुलाक्षी पोखरीमा स्नान गर्ने, घर–घरमा भुत द्योको पूजा गर्ने तथा दाफा भजनको सुरुआतलगायतका विशिष्ट परम्परासहित मनाउने गरिन्छ।
स्थानीयका अनुसार गठेमङ्गल नेवा समुदायको एउटा पर्व मात्र नभई सरसफाइ, जनस्वास्थ्य, धार्मिक आस्था, लोकविश्वास, सांस्कृतिक निरन्तरता र सामुदायिक एकताको समग्र अभिव्यक्ति हो। यस दिन घर तथा बस्तीबाट अशुद्धता, रोगव्याधि र नकारात्मकता हटाई नयाँ ऊर्जा र सकारात्मकताको स्वागत गर्ने विश्वास गरिन्छ।
स्थानीय सामग्रीबाट भुत द्यो निर्माण
साँखुको मौलिक परम्परामा गठेमङ्गलका अवसरमा आ–आफ्नो टोल तथा घरपरिवारको परम्परा र विधिअनुसार स्थानीय रूपमा उपलब्ध सामग्री प्रयोग गरी ‘भुत द्यो’ तयार गर्ने चलनसमेत रहेको स्थानीय संस्कृतिविद् प्रकाश मान सक्वले बताउनुभयो।
उहाँका अनुसार भुत द्यो निर्माणमा बोजो (बिजा), हाँडी (भाज), छ्वाली, सु–डोरी, नरकट, नःपँलगायत स्थानीय सामग्री प्रयोग गरिन्छ। परम्परागत रूपमा वरपर नै पाइने सामग्रीबाट भुत द्यो तयार गर्नु साँखुको मौलिक संस्कृतिको महत्वपूर्ण पक्ष रहेको उहाँले बताउनुभयो।
भुत द्योलाई बत्ती दिन आवश्यक सामग्रीमा बसि, कच्चा फोसी, कच्चा अनारको हाँगा, सिस्नु, कर्कलो, खासी, कच्चा च्वाक, बकं, फर्सीको पात, च्याली, पता, सलिमालगायत सामग्री प्रयोग गर्ने परम्परा रहेको छ। त्यस्तै, बत्तीका क्रममा पैसा राख्ने चलनसमेत रहेको स्थानीयको भनाइ छ।
स्थानीय विश्वासअनुसार यस्ता सामग्री र विधिको प्रयोगले घरपरिवार तथा समुदायबाट नकारात्मक शक्ति र अशुभ प्रभाव हटाउने तथा सुख, शान्ति र समृद्धिको कामना गर्ने धार्मिक–सांस्कृतिक अर्थ बोकेको हुन्छ।
फलामको औँठीदेखि मूलढोकामा काँटीसम्म
गठेमङ्गलका दिन साँखुमा बालबालिका तथा घरपरिवारसँग जोडिएका केही मौलिक सुरक्षात्मक संस्कारसमेत गरिन्छन्। स्थानीय परम्पराअनुसार यस दिन फलामको औँठी लगाउने, मूलढोकामा विशेष विधिअनुसार तिनकुने काँटी ठोक्ने तथा बालबालिकालाई फलामको ‘नायब्याचा’ बनाएर लुगामा अल्झाएर लगाइदिने चलन रहेको छ।
स्थानीय लोकविश्वासमा फलामलाई अशुभ शक्ति तथा नकारात्मक प्रभावबाट जोगाउने वस्तुका रूपमा लिइन्छ। बालबालिकालाई नायब्याचा लगाइदिँदा उनीहरूलाई डर–त्रास नहुने र अशुभ प्रभावबाट जोगिने विश्वास रहिआएको छ।
गठेमङ्गलका दिन एउटा बलि दिने परम्परासमेत कतिपय परिवारमा रहिआएको स्थानीयले बताएका छन्। यस्ता धार्मिक तथा सांस्कृतिक विधि परिवार र टोलअनुसार केही फरक भए पनि यसको मूल उद्देश्य घरपरिवारको रक्षा, अशुभता हटाउने र शुभताको कामना गर्नु रहेको बताइन्छ।
तीनखुट्टे राक्षसको प्रतीक विसर्जन
परापूर्वकालदेखि चलिआएको अर्को महत्वपूर्ण परम्पराअन्तर्गत छ्वाली, पराल तथा बाँसलगायत सामग्रीबाट तीनखुट्टे राक्षसको प्रतीक बनाउने, त्यसलाई टोल–टोल घुमाउने र अन्त्यमा दोबाटो वा चौबाटोमा पुर्याएर जलाउने वा विसर्जन गर्ने गरिन्छ।
गठामुग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनामा राक्षसको प्रतीक बनाएर जलाउने गरिएको जनविश्वास छ। राक्षसको प्रतीक विसर्जन गर्नु समुदाय तथा घरपरिवारबाट दुष्ट शक्ति, रोगव्याधि र नकारात्मकता हटाउने प्रतीकका रूपमा लिइन्छ।
साँखुको आफ्नै मौलिक मान्यता
चिनिए पनि साँखुमा यसको आफ्नै मौलिक धार्मिक तथा सांस्कृतिक अर्थ रहेको संस्कृतिविद् सक्वले बताउनुभयो।
उहाँका अनुसार साँखुको स्थानीय परम्परामा गठेमङ्गललाई ‘भुत्यो’ नामक देवताका रूपमा समेत मान्ने गरिन्छ। यसले घर तथा बस्तीमा रहेका फोहोर, रोगव्याधि तथा नकारात्मक तत्वलाई बाहिर लैजाने विश्वास रहेको उहाँले बताउनुभयो।
गठेमङ्गलसँग साँखुको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्परा गहिरोसँग जोडिएको उहाँको भनाइ छ। स्थानीय परम्पराअनुसार यस दिनलाई द्वापरयुगको अन्त्य भई कलियुग प्रारम्भ भएको दिनका रूपमा समेत व्याख्या गर्ने गरिन्छ।
नयाँ पानी र नयाँ आगोको स्वागत
गठेमङ्गलको पूर्वसन्ध्यामा घरघरमा सरसफाइ गर्ने, नुहाइधुवाइ गर्ने तथा पुराना र अशुद्ध वस्तु हटाउने चलन छ। त्यसपछि नयाँ पानी र नयाँ आगो प्रयोग गरेर नयाँ युग तथा नयाँ ऊर्जाको स्वागत गर्ने परम्परा साँखुमा रहेको सक्वले बताउनुभयो।
यसले पुरानो अशुद्धता र नकारात्मकतालाई बिदा गरी नयाँ ऊर्जा, शान्ति र समृद्धिलाई घरमा भित्र्याउने सांस्कृतिक सन्देश दिने उहाँको भनाइ छ।
सौपा फाल्ने र नयाँ सौपा राख्ने
साँखुको अर्को मौलिक परम्परा ‘सौपा’ फाल्ने र नयाँ सौपा राख्ने हो। गठेमङ्गलका दिन वर्षभरि घरको ढोकामा टाँसेर राखिएको सौपा निकालेर बाहिर फाल्ने गरिन्छ।
वर्षभरि घरमा रहेका नकारात्मक शक्ति तथा खराब तत्व सौपामा जम्मा भएर बसेको विश्वासका साथ त्यसलाई गठेमङ्गलका दिन घरबाहिर लगेर विसर्जन गरिन्छ। पुरानो सौपा हटाएपछि गोबर, फूललगायत सामग्री प्रयोग गरी नयाँ सौपा तयार पारेर पूजा गर्ने र घरको ढोकामा टाँस्ने गरिन्छ।
नयाँ सौपा राख्नु घरमा नकारात्मक शक्ति हटाएर नयाँ ऊर्जा र सकारात्मक शक्ति भित्र्याउने प्रतीकका रूपमा लिइन्छ।
पुखुलाक्षी पोखरीमा दिनभर स्नान गर्नेको घुइँचो
गठेमङ्गलका अवसरमा साँखुको पुखुलाक्षीमा अवस्थित ऐतिहासिक पोखरीमा बिहानैदेखि अबेर बेलुकासम्म स्नान गर्नेहरूको घुइँचो लागेको थियो। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म पोखरीमा पुगेर स्नान तथा जल ग्रहण गरेका थिए।
पुखुलाक्षी पोखरीमा स्नान गरेमा लुतो, खटिरा तथा विभिन्न रोगव्याधि हट्ने जनविश्वास रहिआएको छ। विशेषगरी बालबालिकालाई पोखरीको पानीले नुहाइदिएमा छालासम्बन्धी समस्या हट्ने तथा रुन्चेपन कम हुने विश्वासका कारण गठेमङ्गलका दिन यहाँ स्नान गर्नेको सङ्ख्या उल्लेख्य हुने गरेको छ।
स्थानीय ज्येष्ठ नागरिक गोपालदास श्रेष्ठका अनुसार पुखुलाक्षी पोखरी साँखुको धार्मिक तथा सांस्कृतिक पहिचानसँग गहिरोसँग जोडिएको छ। तत्कालीन पञ्चायतकालमा यही पोखरीको नामबाट तत्कालीन गाउँ विकास समितिको नामकरणसमेत गरिएको जानकारी उहाँले दिनुभयो।
“पुखुलाक्षी पोखरीको आफ्नै ऐतिहासिक महत्त्व छ। यही पोखरीको नामबाट तत्कालीन पञ्चायतकालमा गाउँ विकास समितिको नामकरण भएको हो,” श्रेष्ठले भन्नुभयो।
उहाँका अनुसार गठेमङ्गलका दिन यस पोखरीमा स्नान गर्ने परम्परा अन्य स्थानको तुलनामा साँखुको विशिष्ट मौलिक परम्परा हो। पोखरीमा स्नान गरेमा लुतो, खटिरा तथा रोगव्याधि हट्ने जनविश्वास पुस्तौँदेखि चलिआएको उहाँले बताउनुभयो।
गठेमङ्गलसँगै दाफा भजनको सुरुआत
गठेमङ्गल पर्वसँगै साँखुमा परम्परागत दाफा भजनको क्रम पनि सुरु भएको छ। साँखुका विभिन्न आठ टोलमा अझै पनि दाफा भजन गर्ने मौलिक परम्परा कायम रहेको छ। तीमध्ये धूँल्लाटोलमा दाफा भजनको परम्परा निरन्तर रूपमा चल्दै आएको दाफा भजनका सदस्य जीवनलाल श्रेष्ठले बताउनुभयो।
दाफा भजन नेवा समुदायको धार्मिक तथा सांगीतिक परम्पराको महत्वपूर्ण अंग हो। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यस परम्परामा स्थानीय बाजागाजा र सामूहिक गायनमार्फत धार्मिक, सांस्कृतिक तथा नैतिक भाव बोकेका भजन प्रस्तुत गरिन्छन्।
श्रेष्ठका अनुसार दाफा भजन मनोरञ्जनका लागि गरिने सांगीतिक गतिविधि मात्र होइन, स्थानीय इतिहास, भाषा, संगीत, संस्कार र सामुदायिक एकतालाई पुस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम पनि हो।
“गठेमङ्गलसँगै दाफा भजनको सुरुआत हुनु नयाँ पुस्ताका लागि समेत आफ्नो मौलिक संस्कृति सिक्ने अवसर हो,” उहाँले भन्नुभयो। नयाँ सिक्नेहरूलाई यही दिनदेखि दाफा भजनको अभ्यासमा सहभागी गराउने अवसर सिर्जना हुने भएकाले पर्वको सांस्कृतिक महत्त्व अझ बढेको उहाँको भनाइ छ।
आधुनिक जीवनशैली र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण मौलिक दाफा भजन परम्परा संरक्षण गर्नु अहिले झनै आवश्यक भएको श्रेष्ठले बताउनुभयो। नयाँ पुस्तालाई यसमा सहभागी गराउन सके मात्र पुस्तौँदेखि चल्दै आएको मौलिक सांस्कृतिक सम्पदा आगामी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्न सकिने उहाँले बताउनुभयो।
दाफा भजन संरक्षणमा जोड
साँखुका आठ टोलमा अझै दाफा भजनको अभ्यास कायम रहनु यहाँको जीवन्त सांस्कृतिक परम्पराको प्रमाण भएको स्थानीयको भनाइ छ। विशेषगरी धूँल्लाटोलमा परम्परागत रूपमा निरन्तर सञ्चालन हुँदै आएको दाफा भजनले साँखुको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न योगदान पुर्याएको छ।
आधुनिक जीवनशैली र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण मौलिक दाफा भजन परम्परा संरक्षण गर्नु अहिले झनै आवश्यक भएको श्रेष्ठले बताउनुभयो। नयाँ पुस्तालाई यसमा सहभागी गराउन सके मात्र पुस्तौँदेखि चल्दै आएको मौलिक सांस्कृतिक सम्पदा आगामी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्न सकिने उहाँले बताउनुभयो।
दाफा भजन संरक्षणमा जोड
साँखुका आठ टोलमा अझै दाफा भजनको अभ्यास कायम रहनु यहाँको जीवन्त सांस्कृतिक परम्पराको प्रमाण भएको स्थानीयको भनाइ छ। विशेषगरी धूँल्लाटोलमा परम्परागत रूपमा निरन्तर सञ्चालन हुँदै आएको दाफा भजनले साँखुको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न योगदान पुर्याएको छ।
स्थानीयका अनुसार दाफा भजनजस्ता अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि स्थानीय तह, समुदाय र नयाँ पुस्ताबीच सहकार्य आवश्यक छ। पुराना पुस्तासँग रहेको ज्ञान, भजनका बोल, बाजागाजा बजाउने सीप र सांस्कृतिक विधि नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके मात्र यस्ता परम्परा दीर्घकालसम्म जीवित रहन सक्छन्।
दाफा भजनको नियमित अभ्यास, प्रशिक्षण, अभिलेखीकरण र सार्वजनिक सांस्कृतिक गतिविधिसँगको आबद्धताले साँखुको मौलिक संस्कृति संरक्षणसँगै सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउन सक्ने स्थानीयको विश्वास छ।
जात्रा–पर्वको सुरुआत
नेवा समुदायमा गठेमङ्गललाई विभिन्न जात्रा तथा पर्वको सुरुआतका रूपमा समेत लिइन्छ। गठेमङ्गलपछि काठमाडौँ उपत्यकामा क्रमशः विभिन्न जात्रा, पर्व तथा सांस्कृतिक गतिविधि बढ्दै जाने भएकाले यस पर्वलाई सांस्कृतिक वर्षको महत्वपूर्ण प्रारम्भिक पर्वका रूपमा लिइन्छ।
काठमाडौँको असनलगायत उपत्यकाका विभिन्न स्थानमा समेत गठेमङ्गलका अवसरमा विशेष सांस्कृतिक गतिविधि तथा जात्रा आयोजना गर्ने परम्परा छ।
धार्मिक आस्था, लोकविश्वास, सरसफाइ, जनस्वास्थ्य, संगीत, सामुदायिक एकता र सांस्कृतिक निरन्तरतासँग जोडिएको गठेमङ्गल साँखुको मौलिक पहिचानसँग अभिन्न रूपमा जोडिएको पर्व हो। भुत द्यो निर्माण तथा पूजा, राक्षसको प्रतीक विसर्जन, सौपा फाल्ने, पुखुलाक्षी पोखरीमा स्नान र गठेमङ्गलसँगै सुरु हुने दाफा भजनसम्मका परम्पराले साँखुको सांस्कृतिक जीवनलाई विशिष्ट बनाएका छन्।
स्थानीयका अनुसार समयअनुसार पर्व मनाउने शैलीमा परिवर्तन आए पनि यसको मौलिकता जोगाउनु अहिलेको प्रमुख आवश्यकता हो। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका यस्ता परम्पराको अभिलेखीकरण, संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न सके साँखुको ऐतिहासिक तथा सांस्कृतिक पहिचान अझ सुदृढ हुने देखिन्छ।