कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्यामा स्तरोन्नति गरिने : भवन निर्माण बजेट छिट्टै उपलब्ध गराउने मुख्यमन्त्री बानियाँको घोषणा

lawanyasandesh.com

साँखु,काठमाण्डौं ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ ले कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको सुविधासम्पन्न अस्पतालका रूपमा स्तरोन्नति गर्न आवश्यक भवन निर्माण बजेट प्रदेश सरकारले छिट्टै उपलब्ध गराउने घोषणा गरेका छन्।


आइतबार मुलपानीस्थित अस्पतालको उच्चस्तरीय अवलोकन तथा सुपरिवेक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले सय शय्याको स्वीकृति प्रक्रिया शीघ्र टुंग्याइने र भवन निर्माणका लागि बजेट विनियोजनमा कुनै द्विविधा नरहेको स्पष्ट पारे। यसअघि नै बागमती प्रदेश सरकारले १०० शय्याको जनरल अस्पताल निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृत गरिसकेको जानकारी समेत दिइएको छ।
मुख्यमन्त्री बानियाँले शिक्षा र स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै कुनै पनि नागरिक यी सेवाबाट वञ्चित हुन नपर्ने वातावरण बनाउन प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने बताए। स्थानीय सरकार नागरिकसँग सबैभन्दा नजिकको तह भएकाले सेवा प्रवाहमा यसको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ थियो।


उनले गणतन्त्रको उपलब्धि गरिब, विपन्न, बालबालिका, महिला र ज्येष्ठ नागरिकको जीवनस्तर सुधारसँग जोडिएको उल्लेख गर्दै अस्पताल प्रशासनलाई यिनै वर्गलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्न आग्रह गरे।
अवलोकनका क्रममा मुख्यमन्त्रीले अस्पतालले प्रदान गर्दै आएका सेवा, व्यवस्थापन प्रणाली, जनशक्ति अवस्था, उपकरण तथा भावी योजनाबारे विस्तृत जानकारी लिएका थिए। अस्पतालको गुणस्तरीय सेवा, स्वच्छ वातावरण र सेवाग्राहीमैत्री व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्दै उनले नगरप्रमुख उपेन्द्र कार्की र उपप्रमुख शान्ता थापा लाई विशेष धन्यवाद दिएका थिए।


नगरप्रमुख कार्कीले प्रदेश सरकारबाट बजेट प्राप्त हुनेबित्तिकै अस्पताल विस्तारको काम तीव्र गतिमा अघि बढाइने बताए। उनका अनुसार अस्पताललाई १०० बेडको आधुनिक अस्पतालका रूपमा विकास गर्दै शल्यक्रिया कक्ष (OT), आईसीयू, विशेषज्ञ सेवा तथा थप निदानात्मक सुविधासहित सञ्चालन गर्ने योजना रहेको छ।


हाल बर्थिङ सेन्टरमार्फत सयौं महिलाले सुरक्षित सुत्केरी सेवा लिइरहेको उल्लेख गर्दै उनले महिलाको पाठेघरसम्बन्धी शल्यक्रियाका लागि लामो समय पर्खिनुपर्ने बाध्यता अन्त्य गर्न अस्पताल विस्तार अपरिहार्य रहेको बताए।
नगरप्रमुख कार्कीले स्वास्थ्यसँगै शिक्षा, उद्यमशीलता, खानेपानी, सडक पूर्वाधार र खेलकुदलाई प्राथमिकतामा राखेर नगरको समग्र विकास अघि बढाइएको जानकारी मुख्यमन्त्रीसमक्ष गराएका थिए।


उपप्रमुख थापाले स्वास्थ्य चौकीबाट सुरु भएको संस्थालाई नगर अस्पतालको स्तरमा पुर्‍याउनु स्थानीय सरकारको उपलब्धि भएको बताइन्। उनले सेवा गुणस्तर, जनमैत्री व्यवस्थापन र पहुँचका हिसाबले अन्य स्थानीय तहका अस्पतालको तुलनामा यो संस्था उदाहरणीय बन्दै गएको दाबी गरिन्।
कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ तथा स्वास्थ्य मन्त्री किरण थापा मगर को पनि उपस्थिति रहेको थियो। दुवै मन्त्रीले अस्पतालको पूर्वाधार, उपकरण र सेवा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
हाल अस्पतालले ३५ शय्यामार्फत सेवा दिँदै आएको छ। यहाँ हाडजोर्नी, नाक-कान-घाँटी (ENT), जनरल फिजिसियन, ओपीडी, मातृ तथा शिशु स्वास्थ्य सेवा, प्रयोगशाला सेवा लगायतका उपचार उपलब्ध छन् भने २४सै घण्टा आपत्कालीन सेवा सञ्चालनमा रहेको छ।
स्थानीयवासीका अनुसार अस्पताल १०० शय्यामा विस्तार भए कागेश्वरी मनोहरा नगरपालिकासहित आसपासका क्षेत्रका हजारौं नागरिकलाई काठमाण्डौंका केन्द्रीय अस्पताल धाउनुपर्ने बाध्यता कम हुनेछ। यसले समय, खर्च र उपचार पहुँच तीनै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया