शंखरापुरमा सडक स्तरोन्नति कार्य सुरु, आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं । काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका वडा नं. ९ अन्तर्गत पर्ने महत्वपूर्ण सहायक सडकखण्डमा सडक स्तरोन्नति तथा मर्मत कार्य औपचारिक रूपमा सुरु गरिएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत प्राप्त सशर्त अनुदानमार्फत सञ्चालन गरिएको उक्त योजनाले स्थानीय पूर्वाधार विकासमा नयाँ गति थप्ने अपेक्षा गरिएको छ।

सहरी विकास तथा भवन कार्यालय, भीमसेनगोला, काठमाडौँको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भइरहेको योजना अन्तर्गत “मंगलादेवी सिंह मार्ग–बुद्ध विहार चोकदेखि मनमट्टा खोला हुँदै वडा नं. ९ को बाँकी क्षेत्र” सम्म सडक स्तरोन्नति, ग्राभेल, कालोपत्रे तथा आवश्यक मर्मत कार्य अघि बढाइएको हो। स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको धुलो, हिलो तथा आवतजावतको समस्यालाई समाधान गर्ने उद्देश्यसहित योजना कार्यान्वयनमा ल्याइएको जनाइएको छ।

उक्त योजनाका लागि वडा अध्यक्ष तथा पदाधिकारीहरुको अनुरोधमा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाश मान सिंह को पहलमा सहरी विकास मन्त्रालयबाट करिब १ करोड ६० लाख रुपैयाँ बराबरको सशर्त बजेट व्यवस्था गरिएको बताइएको छ। यद्यपि ठेक्का सम्झौताअनुसार निर्माण कार्यको कुल लागत रु. ८६ लाख ३३ हजार १६२ रुपैयाँ ३८ पैसा रहेको छ, जसमा भ्याट तथा पी.एस. रकम समेत समावेश गरिएको छ।

निर्माण कार्यको ठेक्का प्रक्रिया सहरी विकास तथा भवन इकाई कार्यालय, भीमसेनगोला, काठमाडौँमार्फत सम्पन्न गरिएको हो। कार्यालयका अनुसार उक्त सडक निर्माण कार्यको ठेक्का सम्झौता UBDO/KTM/WORKS/NCB/09/082/083 नम्बरअन्तर्गत २०८२ साल चैत २८ गते सम्पन्न भएको थियो। सम्झौताअनुसार निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम मिति २०८३ साल असार १० गते तोकिएको छ।

निर्माण कार्यको जिम्मा महोदया–गिलेश्वरी जे.भी. (Mahodaya–Gilleshori J/V) ले पाएको छ। निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्रै गुणस्तरीय रूपमा काम सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा निर्माण कार्य अगाडि बढाइएको जनाएको छ। अहिले सडक क्षेत्रमा माटो सम्याउने, नाला व्यवस्थापन, ग्राभेल बिछ्याउने तथा आवश्यक संरचनागत सुधारका कामहरू भइरहेको स्थानीय स्रोतले जनाएको छ।

स्थानीयवासीका अनुसार उक्त सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेको थियो। वर्षायाममा हिलाम्मे र सुक्खायाममा अत्यधिक धुलाम्मे हुने समस्याका कारण विद्यार्थी, ज्येष्ठ नागरिक, दैनिक यात्रु तथा सवारी चालकहरू प्रभावित हुँदै आएका थिए। सडक स्तरोन्नतिपछि स्थानीय आवतजावत थप सहज हुने, यातायात सञ्चालनमा सुधार आउने तथा समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।

स्थानीय व्यापारीहरूले समेत सडक सुधारपछि व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्। सडकको पहुँच सुधार भएसँगै वडा नं. ९ का विभिन्न बस्तीहरू नगरको मुख्य केन्द्रसँग थप प्रभावकारी रूपमा जोडिने अपेक्षा गरिएको छ। यसले स्थानीय कृषि उत्पादन, साना व्यवसाय तथा सेवा क्षेत्रमा समेत प्रत्यक्ष लाभ पुग्ने अनुमान गरिएको छ।

शंखरापुर नगरपालिकाभित्र पछिल्ला वर्षहरूमा सडक, खानेपानी, शिक्षा तथा स्वास्थ्य पूर्वाधार विस्तारका कामहरू क्रमशः अगाडि बढिरहेका बेला वडा नं. ९ मा सुरु गरिएको यो सडक योजना नगरको विकास अभियानअन्तर्गत महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। स्थानीय जनप्रतिनिधि तथा बासिन्दाले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया