महाशिवरात्रि लक्षित गर्दै पशुपति दर्शनका लागि १३ बुँदे सुरक्षा आग्रह जारी

lawanyasandesh.com

साँखु/काठमाडौं — महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सुरक्षा र भीड व्यवस्थापनलाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर काठमाडौंले १३ बुँदे सावधानी तथा अनुरोध सार्वजनिक गरेको छ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार भीडभाडका बेला चोरी, पाकेटमारी र लुटपाटका घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै बहुमूल्य गरगहना नलगाउन तथा महँगा सामान साथमा नल्याउन आग्रह गरिएको छ।

प्रहरीले मन्दिर क्षेत्रमा झोला नल्याउन, प्लास्टिकका झोला, कप र प्लेटजस्ता सामग्री प्रयोग नगर्न तथा दूध र गंगाजल बोक्दा काँचका भाँडाको सट्टा सुरक्षित वैकल्पिक भाँडा प्रयोग गर्न सुझाव दिएको छ। पशुपति क्षेत्रको निर्धारित मापदण्डअनुसार निषेधित सामग्री प्रवेशमा रोक लगाइने पनि जनाएको छ।

दर्शनका लागि आउने भक्तजनलाई तोकिएका स्थानमा जुत्ताचप्पल राखेर मात्र मन्दिर प्रवेश गर्न, दर्शन सकेपछि अनावश्यक रूपमा परिसरमा नबस्न र भीड कम गर्न सहयोग गर्न अनुरोध गरिएको छ। मन्दिर प्राङ्गणभित्र मोबाइल फोन, क्यामेरा लगायतका उपकरण प्रयोग गर्न नपाइने व्यवस्था यथावत् रहने प्रहरीले स्पष्ट पारेको छ।

यसैगरी छालाजन्य सामग्री, ज्याकेट, कम्मरपेटी तथा जुत्ताचप्पल लगाएर मन्दिर प्रवेश गर्न निषेध गरिएकाले त्यस्ता वस्तु सुरक्षित कक्षमा राख्न भनिएको छ। पाकेटमारबाट जोगिन सचेत रहन, व्यक्तिगत सामानको जिम्मेवारी आफैं लिन र शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरीलाई खबर गर्नसमेत आग्रह गरिएको छ।

तीर्थयात्री अस्वस्थ भएमा स्वास्थ्य शिविरमा सम्पर्क गर्न, कसैको सामान वा व्यक्ति हराएमा तत्काल प्रहरी सहायता कक्ष वा खोजतलास केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको छ। मेला तथा मन्दिर क्षेत्र सफा राख्न, जथाभावी फोहोर नगर्न र तोकिएका शौचालय मात्र प्रयोग गर्न पनि प्रहरीले अपिल गरेको छ।

जेष्ठ नागरिक, अशक्त तथा शारीरिक रूपमा कमजोर भक्तजनलाई प्राथमिकता दिँदै सहयोग गर्न तथा कुनै विशेष टिकट वा पासको व्यवस्था नभएकाले सबैलाई लाइनमा बसेर शान्तिपूर्वक दर्शन गर्न प्रहरीको अनुरोध छ। पङ्क्तिबद्ध क्रममा अरूको अधिकार मिच्ने व्यवहार नगर्नसमेत सचेत गराइएको छ।

प्रतिक्रिया