भोटेकोशी बाढीले रसुवा–नुवाकोटमा मच्चायो कहर, बस्ती र बजारको अस्तित्व मेटियो

lawanyasandesh.com

शंखरापुर, काठमाडौं — रसुवा र नुवाकोटको सीमाक्षेत्र हुँदै बगेको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीमा सयौँ मानिसले ज्यान गुमाएका छन् भने हजारौँ सम्पर्कविहीन भएको पीडित परिवारले बताएका छन्। बाढीले टिमुरे, बेत्रावती, स्याफ्रुबेँसीलगायतका बजार तथा बस्ती तहसनहस बनाउँदै कतिपय क्षेत्रलाई बालुवाको बगरमा परिणत गरिदिएको छ।

बाढी प्रभावित क्षेत्रबाट आफन्तको सहयोगमा करिब नौ घण्टाको कठिन यात्रा पार गरेर आइतबार राति केही पीडित काठमाडौं आइपुगेका छन्। उनीहरूले बाढीबाट भएको क्षति भयावह भए पनि प्रभावित क्षेत्रमा समयमै उद्धार तथा राहत पुग्न नसकेको गुनासो गरेका छन्।

रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावतीका ईश्वर श्रेष्ठका अनुसार बाढी आउन थालेको जानकारी पाएपछि स्थानीयवासी आफैँ एकअर्कालाई खबर गर्दै सुरक्षित स्थानतर्फ भागेका थिए। पूर्ववडाध्यक्षले स्कुटरमा बसेर बस्तीबस्तीमा सूचना दिँदै हिँडेकाले धेरैले ज्यान जोगाउन सकेको उनको भनाइ छ।

“बाढी आएको सूचना पुरानो वडाध्यक्षले स्कुटरमा भन्दै हिँड्नुभयो तर प्रहरीले केही खबर गरेनन्। खबर पाएपछि श्रीमान्–श्रीमती भागेर ज्यान जोगायौँ,” श्रेष्ठले भनिन्।

बाढीले आफ्नो चार रोपनी जग्गा र चारवटा घरको समेत नामनिसान नरहेको उनले बताइन्। रसुवा र नुवाकोट दुवैतर्फका घर तथा संरचना बाढीले बगाएको उल्लेख गर्दै उनले राहत सामग्री नुवाकोटको विदुरमा सङ्कलन भए पनि दुर्गम रसुवातर्फ पुग्न नसकेको गुनासो गरिन्।

“राहत नुवाकोटमा मात्रै थुप्रिएको छ, माथि रसुवा पुग्न सकेको छैन। पीडितले पारदर्शी ढङ्गले उचित राहत पाउनुपर्छ,” उनले भनिन्।

नुवाकोटतर्फको बेत्रावतीकी लक्ष्मी डङ्गोलले पनि बाढीअघि प्रभावकारी पूर्वसूचना नहुँदा ठूलो मानवीय क्षति भएको बताइन्। उनका अनुसार बुधबार बिहान करिब साढे ९ बजे बाढी आए पनि उद्धार टोली तीन दिनपछि मात्रै प्रभावित क्षेत्रमा पुगेको थियो।

आफ्नै बहिनी तथा परिवारका अन्य सदस्य गुमाएकी  डङ्गोलले उद्धारका लागि समयमै पहल भएको भए धेरैको ज्यान जोगाउन सकिने बताइन्। नजिकै सेना शिविर र प्रहरी चौकी हुँदाहुँदै पनि फसेका नागरिकको उद्धारमा अपेक्षित सहयोग नपुगेको उनको आरोप छ।

“साढे ९ बजे खोला आएको थियो। ३ बजेसम्म माथि डाँडामा बसेर हेरिरह्यौँ तर सरकार पुगेन। बेलैमा उद्धार गरेको भए धेरै मानिस बाँच्ने सम्भावना थियो,” उनले भनिन्।

उनले अब जीवितको उद्धार सम्भव नभए पनि बेपत्ता आफन्तको शव खोजी गरिदिन सरकारसँग आग्रह गरिन्। “हेलिकप्टर लगेर डोरी तान्न दिएर फसेका मान्छेलाई पाखामा निकालिदिएको भए मात्रै पनि सयौँ मान्छे बाँच्ने थिए। अब सासको उद्धार गर्न नसके पनि लासको खोजी गरिदिए हुन्थ्यो,” डङ्गोलले भनिन्।

रसुवाकी ज्ञानु श्रेष्ठले बाढीमा ज्यान गुमाएकाहरूका शव अझै बगरमा छरिएर रहेको र कतिपय शव गन्हाउन थालेको बताइन्। नजिकै सेना शिविर रहे पनि खोज तथा उद्धारमा पर्याप्त जनशक्ति परिचालन नभएको उनको गुनासो छ।

“रसुवातिर शव बगरभरि छ, अहिलेसम्म निकालिएको छैन। नजिकै आर्मी क्याम्प छ तर एउटा मान्छे आउँदैन। दुःखमा कसैले हेर्ने रहेनछ,” थापाले भनिन्।

बाढीबाट घरबारविहीन भएका परिवारका लागि तत्काल गाँस, बास र कपासको व्यवस्था गर्दै सुरक्षित स्थानमा पुनःस्थापना गर्नुपर्ने उनको माग छ।

बेत्रावतीकी निश्चल अधिकारीले ऐतिहासिक बेत्रावती बजारको अस्तित्व नै बाढीले मेटाइदिएको बताइन्। खोलाको छेउमा बस्ती बसेकै कारण क्षति भएको भन्ने तर्कप्रति असहमति जनाउँदै उनले बेत्रावती नयाँ बस्ती नभई ऐतिहासिक तथा पुरानो व्यापारिक क्षेत्र भएको स्मरण गराइन्।

स्थानीयवासी श्रेष्ठले पनि सरकारले उद्धार तथा राहतका केही प्रयास गरे पनि ती प्रयास पीडितसम्म पुग्न नसकेको बताए। “सरकारले नगरेको भन्दिनँ, गरेकै छ तर हुनुपर्ने ठाउँमा पुगेको छैन,” उनले भने।

पीडितका अनुसार सरकारले सङ्कलन गरेको राहत सामग्री नुवाकोटको विदुरमा केन्द्रित हुँदा रसुवाका दुर्गम तथा बाढीबाट बढी प्रभावित क्षेत्रमा भने राहत र उद्धार पर्याप्त रूपमा पुग्न सकेको छैन। यसले बाढीपछि पनि पीडितको पीडा थप गहिरिँदै गएको उनीहरूको भनाइ छ।

काठमाडौं आएका बाढीपीडितले आफूहरूको मात्र चिन्ता नगरी गाउँमै विचल्लीमा रहेका नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले बेपत्ताको खोजी, शवको व्यवस्थापन, राहतको समानुपातिक तथा पारदर्शी वितरण र घरबारविहीन परिवारको सुरक्षित पुनःस्थापनालाई प्राथमिकतामा राख्न माग गरेका छन्।

भोटेकोशीको बाढीले पुर्‍याएको क्षति केवल घर, सडक र बजारको विनाशमा सीमित नरहेको पीडितहरूको भनाइ छ। यसले परिवार, पुस्तौँदेखि बसोबास गर्दै आएको थातथलो र स्थानीय जीवनपद्धतिकै अस्तित्वमाथि प्रहार गरेको उनीहरूको दुखेसो छ। अहिले उनीहरूका लागि राहतभन्दा पनि हराइरहेका आफन्तको खोजी र सुरक्षित भविष्यको सुनिश्चितता सबैभन्दा ठूलो आवश्यकता बनेको छ।

प्रतिक्रिया