ऐतिहासिक फल्चामा अब काठको स्पर्श: श्रद्धालुको सुविधाका लागि साँखुमा नमुना अभियान

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं। साँखुको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको श्री माधवनारायण ध्वाखासँगै रहेको ऐतिहासिक फल्चालाई श्रद्धालु र ज्येष्ठ नागरिकमैत्री बनाउने उद्देश्यले स्थानीयवासीले काठको फलेक बिछ्याउने अभियान सुरु गरेका छन्। २०७२ सालको विनाशकारी महाभूकम्पपछि पुरातत्व विभागले पुनर्निर्माण गरेको फल्चामा टायल बिछ्याइएपछि चिसोका कारण बस्न असहज हुने समस्या देखिएसँगै स्थानीय समुदायले यसको समाधानका लागि यो पहल गरेको हो।


साँखुका नौवटा ऐतिहासिक ध्वाखामध्ये पूर्व दिशामा रहेको श्री माधवनारायण ध्वाखा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विशेष महत्त्व राख्छ। प्रत्येक वर्ष श्री माधवनारायण व्रतका अवसरमा शालीनदी स्नानका लागि आउने हजारौँ व्रतालु यही मार्ग प्रयोग गर्ने भएकाले यो फल्चा विश्रामस्थलका रूपमा समेत प्रयोग हुँदै आएको छ।


टोल सुधार समितिका सचिव लोचन श्रेष्ठका अनुसार टायलले विशेषगरी जाडो मौसम तथा बिहान–बेलुकाको समयमा अत्यधिक चिसो हुने भएकाले श्रद्धालु र ज्येष्ठ नागरिकलाई लामो समय बस्न कठिनाइ हुने गरेको थियो। यही समस्यालाई ध्यानमा राख्दै फल्चाभित्र काठको फलेक बिछ्याउने निर्णय गरिएको हो। उहाँले भन्नुभयो, “सम्पदाको मौलिकता जोगाउँदै श्रद्धालुलाई सहज सेवा दिन यो अभियान सञ्चालन गरिएको हो।”


अभियानका लागि चलाखुटोल निवासी समाजसेवी तथा श्री माधवनारायण व्रतका उपाध्यक्ष धिरेन्द्र श्रेष्ठ (गिरि) र सुरेन्द्र श्रेष्ठ (गिरि)ले करिब ५४ क्युफिट उत्तिसको काठ सहयोग गर्नुभएको छ। करिब ४० हजार रुपैयाँ बराबर मूल्यको उक्त काठबाट फल्चाभित्र फलेक बिछ्याउने काम असार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।


काठ जडान तथा अन्य प्राविधिक कार्य स्थानीय टोलवासी, टोल सुधार समितिका पदाधिकारी तथा सदस्यहरूको सामूहिक श्रमदानबाट सम्पन्न गरिनेछ। समितिका अनुसार आर्थिक सहयोग र श्रमदानलाई जोडेर सम्पदा संरक्षण र सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्ने उद्देश्य अभियानको रहेको छ।


स्थानीय धार्मिक परम्पराअनुसार श्री माधवनारायण व्रत दौरान देशमा कुनै विपत्ति आइपर्दा भगवान् श्री माधवनारायणको मुख सेतो पछ्यौराले छोपेर राख्ने र शुभ अवस्था फर्किएपछि यही ध्वाखाबाट पुनः प्रवेश गराउने परम्परा रहिआएको विश्वास छ। त्यसैले यो ध्वाखा र यससँग जोडिएको फल्चा स्थानीय आस्था, संस्कृति र इतिहाससँग गहिरोसँग जोडिएको सम्पदा मानिन्छ।

टोल सुधार समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले सम्पदाको संरक्षणसँगै त्यसको उपयोगितालाई समयअनुकूल बनाउनु आवश्यक रहेको बताउँदै भन्नुभयो, “हामीले ऐतिहासिक सम्पदा जोगाउनुका साथै श्रद्धालु र स्थानीयका लागि अझ उपयोगी बनाउने प्रयास गरेका छौँ। यसले धार्मिक पर्यटन, सामुदायिक एकता र सम्पदा संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएका छौँ।”


स्थानीय समुदायको सक्रियता, आर्थिक सहयोग र श्रमदानबाट सञ्चालन भएको यो अभियानले ऐतिहासिक सम्पदाको संरक्षणसँगै सेवाभाव र सामुदायिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत हुने देखिन्छ । यसले सम्पदा संरक्षण सरकारी निकायको मात्र होइन, स्थानीय समुदायको साझा दायित्व पनि हो भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया