साँखु काठमाण्डौं । शंखरापुर नगरपालिका वडा नं. ६ पुरानो बसपार्क भौद्वाखास्थित श्री भाग्योदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा समाजसेवी,खेलप्रेमि,संगितप्रेमी,तथा शिक्षाप्रेमी नवीन नापित सर्वसम्मत रूपमा चयन हुनुभएको छ। विद्यालय परिवार, अभिभावक, स्थानीय समुदाय तथा सरोकारवालाहरूले नापितको नेतृत्व चयनलाई विद्यालयको शैक्षिक उन्नयन, सुशासन र संस्थागत सुदृढीकरणका लागि सकारात्मक कदमका रूपमा लिएका छन्।
नवीन नापित लामो समयदेखि सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित रहँदै आउनुभएको छ। उहाँ विभिन्न विद्यालयहरूमा खेलकुद तथा संगीत विषयका शिक्षकको रूपमा समेत कार्यरत रहँदै आउनुभएकोले विद्यालयको अतिरिक्त क्रियाकलाप, खेलकुद विकास तथा सांगीतिक प्रतिभा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। यसै कारण अब श्री भाग्योदय माध्यमिक विद्यालयले खेलकुद र सांगीतिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्नेमा दुईमत नरहेको चर्चा सामाजिक क्षेत्रमा व्यापक रूपमा चल्न थालेको छ।
स्थानीयवासी तथा शिक्षा प्रेमीहरूले विद्यालयको भौतिक पूर्वाधार विकास, अनुशासित शैक्षिक वातावरण निर्माण, आधुनिक शिक्षण प्रणालीको विस्तार तथा विद्यार्थीमैत्री वातावरण सिर्जनामा नापितको नेतृत्व फलदायी हुने अपेक्षा गरेका छन्। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै पारदर्शी प्रशासन र समावेशी विकासमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरिएको छ।
अध्यक्षमा सर्वसम्मत चयन भएपछि विभिन्न पक्षबाट उहाँलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। शुभकामना सन्देशहरूमा विद्यालय र समुदायको हितलाई केन्द्रमा राखेर नवीन नापितले दूरदर्शी नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको उल्लेख छ।
नवनिर्वाचित अध्यक्ष नापितले विद्यालयको हित, गुणस्तरीय शिक्षा, शिक्षक–अभिभावक–समुदायबीचको सहकार्य तथा विद्यार्थीको उज्ज्वल भविष्य निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ।
नवीन नापितको नेतृत्वसँगै श्री भाग्योदय माध्यमिक विद्यालयले आगामी दिनमा शैक्षिक प्रगति, संस्थागत विकास, खेलकुद तथा सांगीतिक क्षेत्रमा समेत नयाँ उपलब्धि हासिल गर्दै समुदायको विश्वासलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।