रास्वपाको वर्चस्व : ९२ सिटको नतिजा आउँदा ७४ सिटमा जित

lawanyasandesh.com

साँखु, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर भइरहेको मतगणनाको क्रम जारी रहेको छ। हालसम्म सार्वजनिक भएको पछिल्लो विवरणअनुसार ९२ निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भइसकेको छ।
प्राप्त मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यन्त प्रभावशाली प्रदर्शन गर्दै ७४ सिटमा विजय हासिल गरेको छ। यससँगै रास्वपाले थप ४८ निर्वाचन क्षेत्रमा अग्रता कायम राख्दै प्रतिनिधिसभामा आफ्नो प्रभाव विस्तार गर्ने संकेत देखाएको छ।
मतपरिणामको आधारमा दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले हालसम्म १० सिटमा जित हासिल गरेको छ भने ९ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।
यसैगरी नेकपा एमालेले ३ सिटमा जित हासिल गर्दै ८ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ। परिणामका आधारमा एमाले तेस्रो स्थानमा रहेको छ।
चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ३ सिटमा जित हासिल गरेको छ भने ४ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म १ सिट मात्र जित्न सफल भएको छ र अन्य क्षेत्रमा अग्रता बनाउन सकेको छैन।
निर्वाचन परिणामअनुसार एक स्वतन्त्र उम्मेदवारले पनि विजय हासिल गरेका छन्। साथै श्रम संस्कृति पार्टीले ३ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको निर्वाचन आयोगले जनाएको छ।
देशभर मतगणना जारी रहेकाले आगामी घण्टामा थप निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ। पछिल्लो परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीको उल्लेखनीय उदय र प्रमुख दलहरूबीचको प्रतिस्पर्धा स्पष्ट देखाएको छ।

प्रतिक्रिया