महिला सशक्तीकरण, सामाजिक रूपान्तरण र नेतृत्व विकासमा जोड

lawanyasandesh.com

साँखु,काठामाण्डौं।कागेश्वरी क्षेत्रमा आयोजित महिला समूह तथा दिदीबहिनीहरूको भेलामा सामाजिक रूपान्तरण, महिला नेतृत्व विकास, आर्थिक आत्मनिर्भरता र पारिवारिक सम्बन्ध सुदृढीकरणका विषयमा गम्भीर बहस भएको छ। कार्यक्रममा बोल्दै नगर नेतृत्वले बदलिँदो सामाजिक परिवेशमा हराउँदै गएको आत्मीय सम्बन्ध, परिवारभित्रको संवाद, सामाजिक एकता र मानवीय संवेदनाको संरक्षण गर्न आवश्यक रहेको औँल्याएका छन्।

उनले पछिल्लो समय प्रविधिको अत्यधिक प्रयोगका कारण मानिसहरूबीचको प्रत्यक्ष सम्बन्ध कमजोर हुँदै गएको उल्लेख गर्दै सामाजिक सञ्जालमा सीमित सम्बन्धले मानवीय संवेदनशीलता हराउँदै गएको बताए। “पहिले मानिसहरू भेटघाट गरेर सुख-दुःख साटासाट गर्थे, अहिले फेसबुकको रियाक्सन र मेसेन्जरको कुराकानीमै सीमित हुन थालेका छन्,” उनले भने, “बुढा बाआमालाई सँगै बसेर सेवा गर्ने संस्कार हराउँदै गएको छ, पैसा पठाएर मात्रै दायित्व पूरा भएको सोच विकसित हुँदैछ।”

कार्यक्रममा करिब १५० भन्दा बढी महिला दिदीबहिनीहरूको उपस्थिति रहेको थियो। वक्ताले यस्ता समूहहरूलाई सामाजिक पुँजीको रूपमा व्याख्या गर्दै यसले महिलाबीच भ्रातृत्व, सहकार्य र नेतृत्व क्षमता विकास गर्ने अवसर प्रदान गर्ने बताए।

उनले आगामी निर्वाचनमा अहिले समूहमा आबद्ध महिलाहरू नै वडा सदस्यदेखि प्रमुखसम्मको जिम्मेवारीमा पुग्न सक्ने विश्वास व्यक्त गर्दै महिलाहरूलाई नेतृत्वको दाबी गर्न आग्रह गरे। “मलाई हराएर तपाईँहरू प्रमुख बन्नुस्, त्यसैमा मेरो खुसी हुन्छ,” उनले उत्साहपूर्वक भने।

आर्थिक आत्मनिर्भरता बिना सशक्तीकरण सम्भव छैन

कार्यक्रममा महिला सशक्तीकरणको मूल आधार आर्थिक आत्मनिर्भरता भएकोमा विशेष जोड दिइयो। वक्ताले महिलाहरूले आफैँ कमाउने, आफ्नो श्रम र क्षमताबाट आय आर्जन गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे।

“जब महिलाले आफ्नै कमाइबाट परिवारलाई सहयोग गर्न थाल्छिन्, परिवारले हेर्ने दृष्टिकोण नै बदलिन्छ,” उनले भने, “आत्मनिर्भर महिला आत्मविश्वासी र स्वाभिमानी बन्छिन्।”

उनले सरकारी सेवा, निजी क्षेत्र, बैंकिङ, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न महिलाहरूलाई तयारी गर्न आग्रह गरे। साथै स्वरोजगार र उद्यमशीलता पनि सशक्त विकल्प भएको उल्लेख गर्दै व्यवसाय सञ्चालनका लागि सीप, पुँजी, प्रतिबद्धता र प्रशिक्षण आवश्यक पर्ने बताए।

उद्यम विकासमा नगरपालिका सक्रिय

नगरपालिकाले महिलाहरूलाई स्वरोजगारसँग जोड्ने उद्देश्यले विभिन्न उद्यम कार्यक्रम सञ्चालन गरिरहेको जानकारी पनि कार्यक्रममा दिइयो। विशेषगरी सिताके च्याउ उत्पादनसहित अन्य साना उद्यममा करिब २५ वटा महिला समूह तथा सहकारीलाई संलग्न गराइएको उल्लेख गरियो।

अब ४१ वटै समूहले कुनै न कुनै नवीन उद्यम सञ्चालन गर्ने लक्ष्य रहेको बताउँदै प्रत्येक समूहभित्र रहेका सक्रिय र इच्छाशक्ति भएका महिलाहरूलाई पहिचान गरी अगाडि ल्याउन आग्रह गरिएको छ।

“हरेक समूहमा केही गर्ने सोच भएका ५–७ जना अवश्य हुनुहुन्छ,” वक्ताले भने, “उहाँहरूलाई पहिचान गरेर अगाडि बढाउनुपर्छ।”

सासु–बुहारी विवादबाट माथि उठ्न आग्रह

कार्यक्रममा महिलाहरूलाई घरपरिवारभित्रको अनावश्यक विवाद, विशेषगरी सासु–बुहारी र नन्द–भाउजूबीचको तनावबाट माथि उठ्न आग्रह गरिएको थियो।

“घरको आमाजस्तै सासुलाई र छोरीजस्तै बुहारीलाई व्यवहार गर्नुस्,” वक्ताले भने, “एकअर्काको कुरा काट्ने होइन, सकारात्मक सोचका साथ सहकार्य गर्ने संस्कार विकास गर्नुपर्छ।”

उनले नेपाललाई पारिवारिक सद्भाव र हार्मोनीको उदाहरण बनाउने लक्ष्यसमेत व्यक्त गरे।

टिकटक बनाऔँ, तर मर्यादित र उपयोगी बनाऔँ

सामाजिक सञ्जाल र टिकटकप्रति युवापुस्ताको आकर्षणलाई नकारात्मक रूपमा मात्र नहेर्न आग्रह गर्दै वक्ताले त्यसलाई रचनात्मक बनाउनुपर्ने धारणा राखे।

“टिकटक बनाउनुस्, तर त्यसमा मात्रै नअल्झिनुस्,” उनले भने, “आफ्नो पेशा, सीप, स्वास्थ्य, बिमा, उद्यम वा समाज उपयोगी विषयमा सामग्री बनाउँदा त्यसले समाजलाई सकारात्मक प्रभाव पार्छ।”

नियमित बैठक, छलफल र नेतृत्व विकासमा जोड

महिला समूहहरूलाई सक्रिय र व्यवस्थित बनाउन नियमित बैठक, माइन्युट लेख्ने अभ्यास, सामूहिक छलफल र स्थानीय समस्या समाधानमा सहभागी हुन निर्देशन दिइएको छ।

वक्ताले टोल विकास, ढल, सडक, सरसफाइ, सिसीटिभी जडान, फोहोर व्यवस्थापनजस्ता विषयमा महिला समूहले नेतृत्व लिनुपर्ने धारणा राखे।

“नेतृत्व अभ्यासबाट विकसित हुन्छ,” उनले भने, “सामूहिक छलफल र संगठन सञ्चालनको अनुभवले महिलाहरूलाई भविष्यको जिम्मेवारी सम्हाल्न सक्षम बनाउँछ।”

रुचिअनुसार एड्भान्स तालिम

कार्यक्रममा महिलाहरूको रुचिअनुसार एड्भान्स तालिम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। ब्युटी पार्लर, अचार उत्पादन, सिलाइ–बुनाइ, फ्याब्रिक, उद्यम विकास, सार्वजनिक वक्तृत्वकला लगायतका क्षेत्रमा व्यावसायिक रूपमा अगाडि बढ्न इच्छुक महिलाहरूलाई प्राथमिकता दिइने बताइएको छ।

“तालिम केवल सिकेर बिर्सिनका लागि होइन, व्यवसाय र पेशामा रूपान्तरण गर्नका लागि हुनुपर्छ,” वक्ताले स्पष्ट पारे।

महिला नेतृत्व विस्तारको अभियान

कार्यक्रमको अन्त्यमा नगर नेतृत्वले महिला नेतृत्व विकासको अभियानलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सबै समूहलाई सक्रिय, संगठित र सामाजिक रूपमा उत्तरदायी बन्न आग्रह गरे।

कार्यक्रममा महिला समूह गठन तथा व्यवस्थापनमा सक्रिय भूमिका खेलेकी सबिना म्यामप्रति विशेष धन्यवाद व्यक्त गर्दै वक्ताले “४१ वटा समूहलाई संगठित बनाउनु आफैँमा ठूलो उपलब्धि हो” भन्दै प्रशंसा गरे।

उनले महिलाहरूलाई राजनीतिक आस्था जुनसुकै भए पनि समाज विकासमा योगदान दिनुपर्नेमा जोड दिँदै स्थानीय तहदेखि विभिन्न सामाजिक संस्थामा नेतृत्व लिन हौसला प्रदान गरेका थिए।

प्रतिक्रिया