शंखरापुर, काठमाण्डौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै अंकतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ। जारी शृंखलामा नेपालको यो दोस्रो जित हो।
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा कप्तान Rohit Paudel ले उत्कृष्ट अविजित ७४ रन बनाए। उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै नेपालको जितको आधार तयार पारे।
इशान पाण्डेले ६१ बलमा ५ चौका र २ छक्कासहित ५५ रन बनाए। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। कुशल २८ तथा आसिफ २९ रनमा आउट भए। उपकप्तान Dipendra Singh Airee २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे।
स्कटल्यान्डका लागि मार्क वाटले २ तथा ब्रेन्डन म्याकमुलेनले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भएको थियो। स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनले ४४ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ७३ रन बनाए भने माइकल इंग्लिसले ७२ बलमा ५१ रन जोडे।
नेपालका बलरमध्ये ललित राजवंशी सर्वाधिक प्रभावशाली देखिए। उनले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। Sandeep Lamichhane ले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। यही खेलमार्फत सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्दै नयाँ विश्व कीर्तिमानसमेत बनाए। उनले ७३ खेलमै उक्त उपलब्धि हासिल गर्दै Mitchell Starc को ७७ खेलको पुरानो कीर्तिमान तोडे।
यस्तै नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए।
यस जितसँगै २७ खेलबाट २२ अंक जोडेको नेपाल दुई स्थान सुधार गर्दै पाँचौँ स्थानमा पुगेको छ। समान २२ अंक भए पनि रनरेटमा पछि परेको नामिबिया छैटौँ स्थानमा छ। स्कटल्यान्ड भने ३१ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमै कायम छ।
अब नेपालले शृंखलाको अन्तिम खेल शुक्रबार अमेरिकाविरुद्ध खेल्नेछ।