साउनको पहिलो सोमबार : पशुपतिनाथमा भक्तजनको महासागर, साँखुका ऐतिहासिक शिवालयमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो

lawanyasandesh.com

शंखरापुर, काठमाडौँ ।

सनातन हिन्दू धर्मावलम्बीहरूको विशेष आस्थाको महिना साउनको पहिलो सोमबार आज राजधानीस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनको उल्लेखनीय घुइँचो लागेको छ। बिहान ब्रह्ममुहूर्तदेखि नै हजारौँ भक्तजन जल, दूध, दही, बेलपत्र, धतुरो, अक्षता, फूल र प्रसाद लिएर भगवान् शिवको दर्शन तथा जलाभिषेकका लागि लामबद्ध भएका थिए। पशुपतिनाथ परिसर दिनभर भक्तिमय वातावरणले गुञ्जिएको थियो।


राष्ट्रको प्रमुख शिवधामका रूपमा रहेको पशुपतिनाथ मन्दिरमा नेपालका विभिन्न जिल्ला तथा भारतलगायत छिमेकी मुलुकबाट आएका श्रद्धालुको पनि बाक्लो उपस्थिति देखिएको थियो। दर्शनार्थीको सहज व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्वयंसेवक, नेपाल स्काउट तथा पशुपति क्षेत्र विकास कोषका कर्मचारी परिचालित भएका थिए।


पशुपतिनाथसँगै गोकर्णेश्वर महादेव, डोलेश्वर महादेव, किराँतेश्वर, हलेसी महादेव, केदारनाथ, बैद्यनाथ तथा देशभरका अन्य शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको थियो। धेरै श्रद्धालुले निर्जल वा फलाहार व्रत बसेर भगवान् शिवको पूजा–आराधना गरेका थिए भने कतिपयले रुद्राभिषेक, महामृत्युन्जय जप तथा भजन–कीर्तनसमेत आयोजना गरेका थिए।


शंखरापुर नगरपालिकाभित्र रहेका ऐतिहासिक एवं पौराणिक धार्मिक सम्पदाहरूमा पनि साउनको पहिलो सोमबार विशेष रौनक देखिएको छ। वडा नं. ४ स्थित माहाद्यो ज्वाला नारायणेश्वर महादेव मन्दिर, ऐतिहासिक वज्रयोगिनी क्षेत्र तथा यस भेगको प्रमुख शिवधामका रूपमा परिचित साँखु महादेवस्थान ज्योतिर्लिङ्गेश्वर मन्दिरमा बिहानैदेखि दर्शनार्थीको लामो लाइन लागेको थियो। स्थानीयवासीका साथै काठमाडौँ उपत्यका र बाहिरी जिल्लाबाट आएका भक्तजनले विधिपूर्वक जलाभिषेक, बेलपत्र अर्पण तथा शिवपूजा गरेका थिए।


शंखरापुरका इतिहासविद् प्रकाशमान सक्वका अनुसार साँखु प्राचीन नेपाल मण्डलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण नगर हो। यहाँ रहेका शिव, शक्ती र वैष्णव परम्परासँग सम्बन्धित मठ–मन्दिरहरूले शताब्दीयौँदेखि धार्मिक आस्था, कला, वास्तुकला र सभ्यताको इतिहास बोकेर बसेका छन्। विशेषगरी ज्योतिर्लिङ्गेश्वर महादेवस्थान यस क्षेत्रको प्रमुख शिवआराधना केन्द्रका रूपमा परिचित रहेको र साउन महिनामा यहाँ श्रद्धालुको विशेष भीड लाग्ने गरेको उहाँले बताउनुभयो। यस्ता सम्पदाको संरक्षणले धार्मिक पर्यटन प्रवर्द्धनका साथै स्थानीय संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ।


पालुवारीबाट पूजा गर्न आउनुभएकी रेखा आचार्यले साउनको सोमबार शिवदर्शन गर्न पाउनु जीवनकै ठूलो सौभाग्य भएको बताउनुभयो। “भगवान् शिवको दर्शन गर्दा मनमा अपार श्रद्धा जाग्छ। परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै प्रत्येक वर्ष साउने सोमबार पूजा गर्न आउने गर्छु,” उहाँले भन्नुभयो।

शंखरापुर–१ निवासी सर्मिला दङ्गालले शिवआराधनापछि मनमा अद्भुत शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुने अनुभूति भएको बताउनुभयो। “मन्दिरको आध्यात्मिक वातावरणले मन शान्त बनाउँछ। साउन महिना आत्मसंयम, भक्ति र सदाचारको अभ्यास गर्ने उपयुक्त समय हो,” उहाँले भन्नुभयो।


वैदिक सनातन हिन्दू धर्मग्रन्थअनुसार साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ भने सोमबार उहाँको विशेष दिनका रूपमा वर्णन गरिएको छ। शिवपुराणलगायतका ग्रन्थमा श्रद्धापूर्वक साउने सोमबारको व्रत बसी शिवलिङ्गमा जलाभिषेक गर्दा मनोकामना पूरा हुने, पारिवारिक सुख–समृद्धि प्राप्त हुने, पाप क्षय हुने तथा आध्यात्मिक उन्नति हुने धार्मिक विश्वास उल्लेख गरिएको छ। शास्त्रीय मान्यताअनुसार यो व्रत महिला र पुरुष दुवैले बस्न सक्ने व्यवस्था भए पनि व्यवहारमा परिवारको कल्याणका लागि महिलाहरूले बढी श्रद्धापूर्वक व्रत बस्ने परम्परा रहिआएको छ।

साउन महिना सुरु भएसँगै धेरै श्रद्धालुले सात्त्विक जीवनशैली अपनाउँदै मांसाहार, मदिरा तथा अन्य तामसी भोजन त्याग्ने गरेका छन्। यस अवधिमा शिवभक्तहरू जप, ध्यान, पूजा, दान र धार्मिक अनुष्ठानमा विशेष रूपमा सहभागी हुने गर्छन्।


पूजाअर्चनापछि साँखु बजार, गौशाला, गोकर्ण तथा उपत्यकाका अन्य बजारहरूमा हरियो पोते, चुरा, मेहेन्दी, पूजा सामग्री, फलफूल तथा प्रसाद किन्ने महिलाहरूको चहलपहल उल्लेखनीय देखिएको थियो। स्थानीय व्यवसायीका अनुसार साउने सोमबारसँगै हरियो चुरा, पोते, मेहेन्दी तथा पूजासामग्रीको व्यापारमा उल्लेखनीय वृद्धि भएको छ।


धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भावको प्रतीक मानिने साउने सोमबारले नेपाली समाजमा आध्यात्मिक चेतना, पारिवारिक एकता तथा सांस्कृतिक निरन्तरताको सन्देश प्रवाह गरिरहेको छ। पशुपतिनाथजस्ता राष्ट्रिय आस्थाका केन्द्रदेखि साँखुका ऐतिहासिक शिवालयसम्म देखिएको भक्तजनको उत्साहले नेपालका धार्मिक सम्पदाप्रतिको जनविश्वास अझ बलियो बन्दै गएको स्पष्ट देखिन्छ।

प्रतिक्रिया