साँखु,काठमाण्डौं ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को परीक्षाफल सार्वजनिक गरेको छ। आज साँझ सार्वजनिक गरिएको नतिजाअनुसार यस वर्ष नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका छन्।
बोर्डका अनुसार यस वर्षको कुल उत्तीर्ण प्रतिशत ६५.९८ रहेको छ। अघिल्ला वर्षहरूको तुलनामा यस पटक नतिजामा केही सुधार देखिएको शिक्षा क्षेत्रका जानकारहरूले बताएका छन्।
नतिजाअनुसार सबैभन्दा धेरै विद्यार्थी मध्यम तथा राम्रो जीपीए समूहमा परेका छन्। बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थी संख्या ४८ हजार ३९२ रहेको छ, जुन कुल सहभागीमध्ये उल्लेख्य हिस्सा हो। यसलाई शिक्षाविद्हरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन्।
त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने ८० हजार ३७२ विद्यार्थी रहेका छन् भने २.८० देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या सबैभन्दा बढी ९४ हजार २२२ रहेको छ। २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन्।
बोर्डका अनुसार २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी संख्या ५ हजार १९० रहेको छ भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थी संख्या ७ मात्रै रहेको देखिएको छ।
यस वर्ष पनि नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरिएको हो। न्यूनतम मापदण्ड पूरा गर्न नसक्ने विद्यार्थीहरू ननग्रेडेडमा परेका छन्। ननग्रेडेड भएका विद्यार्थीहरूले बोर्डले तोकेको विषयमा पुनः परीक्षा दिन पाउने व्यवस्था रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा विद्यार्थी, अभिभावक तथा विद्यालयहरूमा एसईईप्रतिको दबाब केही कम भए पनि गुणस्तरीय शिक्षाको चुनौती भने अझै कायम छ। विशेषगरी सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीचको शैक्षिक उपलब्धिमा रहेको अन्तर घटाउन राज्यले थप लगानी गर्नुपर्ने उनीहरूको भनाइ छ।
यस वर्षको नतिजाले शहरी क्षेत्रका विद्यालयसँगै केही ग्रामीण तथा दुर्गम जिल्लाका विद्यालयले पनि राम्रो प्रदर्शन गरेका छन्। सूचना प्रविधिको पहुँच, नियमित कक्षा सञ्चालन, शिक्षक व्यवस्थापन तथा अभिभावकको चासो बढेकाले नतिजामा सकारात्मक प्रभाव परेको शिक्षा विज्ञहरूको विश्लेषण छ।
प्रदेशगत नतिजा ।
बोर्डले विद्यार्थी तथा अभिभावकलाई आधिकारिक वेबसाइट, एसएमएस तथा विभिन्न डिजिटल माध्यमबाट नतिजा हेर्न आग्रह गरेको छ। नतिजा सार्वजनिक भएसँगै देशभर विद्यार्थी, अभिभावक र विद्यालयहरूमा उत्साह तथा चहलपहल बढेको छ।