शंखरापुर, काठमाडौँ — ‘सेवा नै धर्म हो’ अर्थात् Service Above Self भन्ने मूल भावनालाई आत्मसात् गर्दै रोटरी क्लब अफ साँखुले हालैको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराएको छ।
बाढीबाट सर्वस्व गुमाएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका पीडितको अवस्थालाई प्रत्यक्ष नियाल्दै क्लबले उनीहरूलाई आवश्यक सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको हो। विपत्तिको समयमा भाषण र सहानुभूतिभन्दा व्यवहारिक सहयोग महत्वपूर्ण हुने मान्यतासहित क्लबले पीडितको साथमा उभिएको जनाएको छ।
यस सहयोगको विशेष पक्ष भने क्लबले राहत वितरणका क्रममा फोटो तथा भिडियो नखिच्नु र त्यसलाई प्रचारप्रसार नगर्नु हो। पीडितको दुःखलाई प्रदर्शनको विषय नबनाई उनीहरूको गोपनीयता, गरिमा र आत्मसम्मानलाई प्राथमिकता दिँदै सहयोग गरिएको क्लबले जनाएको छ।
“पीडितको पीडा र बाध्यता प्रचार गर्ने विषय होइन, विपत्तिमा उनीहरूको हात समात्ने र सम्मान गर्ने विषय हो,” क्लबका प्रतिनिधिले भने, “आजको समयमा बाढीपीडितलाई केवल सहानुभूति होइन, बलियो साथ, व्यावहारिक सहयोग र नयाँ आशाको आवश्यकता छ।”
राहत वितरणमा देखावटीभन्दा सेवाको भावनालाई प्राथमिकता दिएको क्लबको यो पहलले विपत्तिमा सहयोगको अर्को मानवीय संस्कारसमेत प्रस्तुत गरेको छ। पीडितको आत्मसम्मान जोगाउँदै गरिएको सहयोगले ‘सेवा’ केवल सामग्री हस्तान्तरण नभई संवेदना र सम्मानको अभिव्यक्ति पनि हो भन्ने सन्देश दिएको छ।
बाढीबाट प्रभावित नागरिकलाई पुनः सामान्य जीवनमा फर्कन सहयोग पुगोस् भन्ने उद्देश्यसहित रोटरी क्लब अफ साँखुले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।