शालिनदीमा धार्मिक आस्थाको नयाँ आयाम : श्री माधवनारायण व्रतस्थलमा सुनको गजुर स्थापना गरि मन्दिरलाई पुर्णता: भक्तजनमा उत्साह

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं

शंखरापुर नगरपालिकाको वडा नं. ७ अन्तर्गत अवस्थित पुण्यभूमि तथा पवित्र धार्मिक तीर्थस्थल शालिनदी क्षेत्रमा निर्माणाधीन श्री माधवनारायण मूल मन्दिरमा सुनको गजुर स्थापना गरिएको छ। नेपालको प्राचीन धार्मिक परम्परा, आस्था र आध्यात्मिक चेतनासँग जोडिएको यस महत्वपूर्ण कार्य भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको हो।

धार्मिक मान्यताअनुसार शालिनदी क्षेत्र वैष्णव सम्प्रदायको एक महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। यहाँ प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने श्री श्री श्री माधवनारायण व्रत सनातन धर्मका अत्यन्त कठिन र विशेष व्रतमध्ये एक मानिन्छ। एक महिनासम्म सञ्चालन हुने यस व्रतका लागि नेपालका विभिन्न स्थान तथा विदेशबाट समेत हजारौं भक्तजन यहाँ आउने गरेका छन्।

पौराणिक विश्वासअनुसार माधवनारायण भगवानको आराधना तथा शालिनदीमा स्नानले मनोकांक्षा पूरा हुने, दुःख–कष्ट निवारण हुने तथा आध्यात्मिक शान्ति प्राप्त हुने विश्वास रहिआएको छ। विशेषगरी महिलाहरूले परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै कठोर नियम पालना गरी व्रत बस्ने परम्पराले यस क्षेत्रलाई विशिष्ट धार्मिक पहिचान प्रदान गरेको छ।

पवित्र शालिनदी गंगाको किनारमा निर्माण भइरहेको मूल मन्दिरको शिलान्यास यसअघि धूँल्लाटोलको पालामा अध्यक्ष मिजेन्द्र काजी श्रेष्ठद्वारा गरिएको थियो। त्यसलाई निरन्तरता दिँदै शाल्खाटोलको दुईवर्षे कार्यकाल तथा चलाखुको दुईवर्षे कार्यकालको अन्तिम अवधिमा मन्दिरमा सुनको गजुर स्थापना गर्ने महत्वपूर्ण कार्य सम्पन्न भएको हो।

कार्यक्रममा मूल पुरोहित सुदन राज रजोउपाध्यायले वैदिक विधिअनुसार विशेष पूजा सम्पन्न गरेपछि समितिका अध्यक्ष विकास मान सिंले विधिपूर्वक सुनको गजुर स्थापना गर्नुभएको थियो। गजुर स्थापना अघि उपस्थित भक्तजनहरूले अन्तिम पटक गजुरलाई छोएर ढोग्दै पूजा–आराधना गरेका थिए। धार्मिक आस्थाले भरिएको उक्त क्षणमा धेरै भक्तजन भावुक समेत बनेका देखिएका थिए।

विशेष गरी कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, शंखरापुर नगरपालिकाका निवर्तमान मेयर सुवर्ण श्रेष्ठ तथा शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको विशेष उपस्थिति रहेको थियो। उनीहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको सहभागीहरूले बताएका छन्।

मन्दिर निर्माण तथा सुनको गजुर स्थापनामा विभिन्न व्यक्ति तथा सरोकारवालाहरूको उल्लेखनीय योगदान रहेको बताइएको छ। विशेषगरी कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको आर्थिक सहयोग तथा शंखरापुर नगरपालिकाका निवर्तमान मेयर सुवर्ण श्रेष्ठको महत्वपूर्ण सहयोग र योगदान रहेको आयोजक पक्षले जनाएको छ। धार्मिक तथा सामाजिक महत्व बोकेको कार्यमा विभिन्न तहबाट प्राप्त साथ र सहयोगले स्थानीयवासी तथा भक्तजनमा थप उत्साह पैदा गरेको बताइएको छ।

स्थानीयवासीहरूले सुनको गजुर स्थापनाले केवल मन्दिरको सौन्दर्य बढाउने मात्र नभई यस क्षेत्रको धार्मिक गरिमा, ऐतिहासिक महत्व तथा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

भक्तजनहरूका अनुसार शालिनदी केवल एउटा धार्मिक स्थल मात्र नभई आस्था, तपस्या र संस्कृतिको जीवित केन्द्र हो। यहाँ निर्माण भइरहेको भव्य मन्दिर र त्यसमा स्थापित सुनको गजुरले अब यस क्षेत्रको रौनक, वैभव तथा आध्यात्मिक आकर्षणलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यस धार्मिक कार्यले सम्पूर्ण चन्दादाता, सहयोगी तथा आस्था राख्ने भक्तजनहरूको विश्वास र उत्साहलाई थप मजबुत बनाएको अनुभूति गरिएको छ। स्थानीयहरूले शालिनदीको धार्मिक पहिचान अब झन् सशक्त र उज्ज्वल बन्दै गएको बताएका छन्।

प्रतिक्रिया