काङ्ग्रेस काठमाण्डौं–२ मा नवनिर्वाचित प्रतिनिधिलाई शपथ

lawanyasandesh.com

शंखरापुर,काठमाण्डौं। नेपाली काङ्ग्रेस काठमाण्डौं क्षेत्र नं. २ मा नवनिर्वाचित क्षेत्रीय सभापति, पदाधिकारी, सदस्य तथा केन्द्र र प्रदेश महाधिवेशन प्रतिनिधिहरूलाई शपथ ग्रहण गराइएको छ। नेपाली काङ्ग्रेस काठमाण्डौं क्षेत्र नं. २ को आयोजनामा सम्पन्न बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिहरूले संविधान, पार्टीको विधान, नीति, आदर्श र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रही संगठन तथा समाजप्रति जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।


कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नवनिर्वाचित प्रतिनिधिहरूलाई सामूहिक रूपमा शपथ गराउनुभएको थियो। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, पदाधिकारी, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूको सहभागिता थियो।


जेन–जीका आवाजलाई काङ्ग्रेसका मुद्दा बनाउनुपर्ने

कार्यक्रममा युवा महाधिवेशन प्रतिनिधि प्रकृति भट्टराईले १५औँ महाधिवेशनले जेन–जी पुस्ताको आवाज, आवश्यकता र अपेक्षालाई पार्टीको नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताउनुभयो।

उहाँले परिवर्तनको अपेक्षासहित नयाँ अनुहारहरू नेतृत्वमा आएको उल्लेख गर्दै पार्टीका हरेक तहका नेतृत्वले नयाँ पुस्तासँग सहकार्य गरी मुलुक र स्थानीय तहको विकासमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। “जेन–जीका माग एकातिर र हाम्रा माग अर्कोतिर बनाएर नेपाली काङ्ग्रेस अघि बढ्न सक्दैन,” उहाँले भन्नुभयो।


जनताका आवश्यकता पार्टीका प्राथमिकता बन्नुपर्छ : जीवनलाल श्रेष्ठ

शंखरापुर नगर सभापति जीवनलाल श्रेष्ठले १५औँ महाधिवेशनले नयाँ पुस्ताको सहभागितालाई प्राथमिकता दिएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो।

उहाँले जेन–जीका अपेक्षा र स्थानीय जनताका आवश्यकतालाई पार्टीका प्राथमिकतासँग जोड्नुपर्ने उल्लेख गर्दै महाधिवेशनबाट प्राप्त नीति, निर्णय र मार्गदर्शनलाई वडा, टोल तथा समुदाय तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

शपथलाई जिम्मेवारीका रूपमा लिन आग्रह


महाधिवेशन प्रतिनिधि शंकर थापाले शपथलाई औपचारिकतामा सीमित नगरी संविधान, लोकतन्त्र र पार्टी संगठनप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभयो। स्थानीयदेखि प्रदेश र संघीय तहसम्म संगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।


काठमाण्डौं क्षेत्र नं. २ प्रदेशसभा क्षेत्र (ख) का सभापति सीताराम आचार्यले पार्टीका गतिविधि पार्टीको घेराभित्र मात्र सीमित नराखी जनताबीच पुर्‍याउनुपर्ने बताउनुभयो। जनताले दिने प्रशंसा र आलोचना दुवैलाई आत्मसात् गर्दै सुधारको संस्कार विकास गर्नुपर्ने उहाँले बताउनुभयो।

नयाँ पुस्ताको प्रतिनिधित्वलाई संस्थागत गर्नुपर्छ : कार्की


मेयर उपेन्द्र कार्कीले नेपाली काङ्ग्रेसमा नयाँ पुस्ताको सहभागितालाई केवल प्रतिनिधित्वमा सीमित नराखी त्यसलाई पार्टीको नीति, नेतृत्व र निर्णय प्रक्रियामै संस्थागत गर्नुपर्ने बताउनुभयो।


उहाँले वर्तमान पुस्ताका अपेक्षा, आकांक्षा र आवाजलाई सम्बोधन गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै अग्रज नेताहरूको त्याग र योगदानको सम्मानसँगै नयाँ पुस्तालाई जिम्मेवारी र अवसर दिनुपर्नेमा जोड दिनुभयो।


“काङ्ग्रेस इतिहास मात्र होइन, वर्तमानको जिम्मेवारी र भविष्यको आशा पनि हो,” कार्कीले भन्नुभयो, “अग्रजहरूको योगदानलाई सम्मान गर्दै वर्तमान पुस्ताको अपेक्षा सम्बोधन गरेर लोकतान्त्रिक मूल्य र संस्थालाई अझ बलियो बनाउनुपर्छ।”


उहाँका अनुसार पार्टीको आगामी यात्रा विगतको योगदानमा मात्र निर्भर नभई नयाँ पुस्ताको ऊर्जा, सोच र सहभागितालाई संस्थागत गर्दै अघि बढ्नुपर्छ।


चुनौती चिरेर नयाँ दिशामा अघि बढ्नुपर्छ : चालिसे

संसदीय व्यवस्था तथा संसदीय समितिका पूर्व सभापति एवं नेता सन्तोष चालिसेले नेपाली काङ्ग्रेस चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै विगतका कमजोरी स्वीकार गरी सुधारसहित नयाँ दिशामा अघि बढ्नुपर्ने बताउनुभयो।


उहाँले युवा नेतृत्वसँगै जेन–जी पुस्ता र सबै समुदायका अपेक्षालाई समेटेर पार्टीलाई जनताको पक्षमा थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो। “गल्तीलाई ढाकछोप गरेर होइन, स्वीकार गरेर सुधार गर्दै अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

नयाँ पुस्ता, नयाँ ऊर्जा र नयाँ जिम्मेवारी


कार्यक्रमका अध्यक्ष एवं काठमाण्डौं क्षेत्र नं. २ का क्षेत्रीय सभापति कविर शर्मा फुँयालले १५औँ महाधिवेशनपछि नेपाली काङ्ग्रेस नयाँ परिस्थितिअनुसार नयाँ चरणमा प्रवेश गरेको बताउनुभयो।


अग्रजहरूले स्थापित गरेको वैचारिक आधार र लोकतान्त्रिक मूल्य–मान्यतालाई संरक्षण गर्दै समयअनुकूल कार्यशैली र नेतृत्व विकास गर्नुपर्ने उहाँको भनाइ थियो। नवनिर्वाचित प्रतिनिधिहरूले इमानदारी, सक्रियता, अनुशासन र जवाफदेहिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो।


कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव कृष्णराम रायमाझीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न तहका नेता, पदाधिकारी, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।


शपथका क्रममा नवनिर्वाचित प्रतिनिधिहरूले नेपालको संविधान, नेपाली काङ्ग्रेसको विधान, नीति तथा आदर्शप्रति निष्ठावान् रही राष्ट्रिय तथा सार्वजनिक हित, लोकतान्त्रिक मूल्य, संगठनात्मक अनुशासन र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै “समुन्नत नेपाल र सम्मानित नेपाली” निर्माणको अभियानमा जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


प्रतिक्रिया