शंखरापुरमा दुर्घटना : मोटरसाइकल मोटोरसाईकल आईचर (मिनि टाटा)सँग ठोक्किँदा एक महिला गम्भीर घाइते

lawanyasandesh.com

साँखु काठमाण्डौं । शंखरापुर नगरपालिका वडा नम्बर ७ अन्तर्गत लप्से नजिक दमैई खोल्चोस्थित साँखु–मेलम्ची सडक खण्डमा शनिवार  दिउँसो भएको सवारी दुर्घटनामा एक महिला गम्भीर घाइते भएकी छन्।


दुई मोटरसाइकल एकआपसमा ठोक्किएपछि एउटा मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको आईचर मिनि टाटासँग ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार २०८३ साल जेठ ९ गते दिउँसो करिब १ः३० बजे साँखुबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४१ प ९७७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३२ प १३५४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनापछि बा ४१ प ९७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको बा ५ ख २२०७ नम्बरको आईचर मिनि टाटामा ठोक्किएको थियो।


दुर्घटनामा बा ४१ प ९७७५ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर १२ निवासी ४२ वर्षीय नवीन गोलेको मोटरसाइकल पछाडि सवार उनकी श्रीमती ३६ वर्षीया भवानी गोले गम्भीर घाइते भएकी हुन्। उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते भवानी गोलेलाई तत्काल उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई एनएमसी अस्पताल रिफर गरिएको बताइएको छ।
दुर्घटनामा संलग्न अर्को मोटरसाइकल चालक सिन्धुपाल्चोक नगरपालिका वडा नम्बर १ निवासी ४५ वर्षीय राजन चौलागाईं रहेका थिए। दुवै मोटरसाइकल चालक तथा आईचर चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रभाग साँखुले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया