शुक्रबार १२:३४ बजे लिनेछन् बालेन शाहले प्रधानमन्त्रीको शपथ, विशेष वैदिक विधिसहित कार्यक्रम

lawanyasandesh.com

साँखु,काठमाडौं । बालेन शाह नेतृत्वको नयाँ सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले चैत १३ गते शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शपथ ग्रहण समारोहलाई धार्मिक तथा सांस्कृतिक विधिसहित विशेष ढंगले आयोजना गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।
रास्वपाले दिएको जानकारीअनुसार शपथ समारोहका क्रममा ७ वटा शंखबाट एकैपटक शंखनाद गरिनेछ। साथै १०८ जना बटुकद्वारा स्वस्ति वाचन गरिने र १६ जना भिक्षुबाट अष्टमंगल पाठ गरिने कार्यक्रम समावेश गरिएको छ। परम्परागत वैदिक तथा बौद्ध विधि संयोजन गरी कार्यक्रमलाई प्रतीकात्मक रूपमा राष्ट्रिय एकताको सन्देश दिने गरी आयोजना गर्न लागिएको बताइएको छ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार शपथ समारोहमा राजनीतिक दलका प्रतिनिधि, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ। समारोहलाई मर्यादित र संक्षिप्त बनाउँदै औपचारिकता पूरा गरिने तयारी गरिएको उनले बताए।
प्रधानमन्त्री पदको शपथ ग्रहणपछि शाहले सोही दिन अपराह्न २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। पदभार ग्रहणसँगै मन्त्रिपरिषद् गठन, प्रशासनिक सुधार तथा प्राथमिक नीतिगत निर्णयहरू सार्वजनिक गर्ने तयारी भइरहेको रास्वपाले जनाएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको थियो। सो परिणामपछि एकल सरकार गठन गर्ने बाटो खुलेको हो। पार्टीभित्र मन्त्रिपरिषद् संरचना सानो र कार्यमुखी बनाउने, नीति–कार्यक्रममा सुशासन, आर्थिक सुधार, सेवा प्रवाह र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
नयाँ सरकार गठनसँगै प्रशासनिक पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण, स्थानीय तहसँग समन्वय र डिजिटल सेवा विस्तारलाई प्रारम्भिक प्राथमिकतामा राख्ने संकेत रास्वपा नेताहरूले दिएका छन्। प्रधानमन्त्रीको शपथपछि मन्त्रिपरिषद् विस्तार, विश्वासको मत लिने प्रक्रिया र सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया