साँखु, काठमाडौँ ।
गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीभित्र हुने सरुवा र बढुवा प्रक्रियालाई पूर्ण रूपमा प्रणालीगत बनाइने बताएका छन्। प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले व्यक्तिगत पहुँच र सिफारिसका आधारमा सरुवा–बढुवा गराउने परम्परा अन्त्य गरिने स्पष्ट पारेका हुन्।
गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीहरूलाई निर्धक्क भएर आफ्ना समस्या राख्न आग्रह गर्दै व्यक्तिगत फाइदाका लागि भने मन्त्रालय वा मन्त्रीकहाँ नआउन निर्देशन दिए। उनले भने, “मसँग अप्ठ्यारो मान्नु पर्दैन, निर्धक्क भएर कुरा गर्न आउन सक्नुहुन्छ। तर ‘मलाई बढुवा गरिदिनु पर्यो’ वा ‘नाकामा सरुवा गरिदिनु पर्यो’ भनेर मेरोमा नआउनुहोला, त्यो बाटो अब बन्द भइसक्यो।”
उनका अनुसार सरुवा तथा बढुवाका लागि स्पष्ट योजना र मापदण्ड तयार पारिएको छ। अब कसैको पहुँच, सिफारिस वा दबाबका आधारमा नभई कार्यक्षमता, वरिष्ठता र प्रणालीअनुसार पदोन्नति हुने उनले बताए। आकर्षक मानिने नाका वा विशेष स्थानमा सरुवाका लागि हुने ‘पहुँचको राजनीति’ पनि रोक्ने उनको भनाइ छ।
गृहमन्त्री गुरुङले व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर कार्यक्षेत्रमा देखिएका वास्तविक समस्या र मर्का सुन्न आफू सधैं तयार रहेको उल्लेख गरे। प्रत्येक प्रहरी कर्मचारीको समस्यालाई अभिभावकीय रूपमा समाधान गर्न पहल गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
उनको भनाइले प्रहरी प्रशासनभित्र हुने राजनीतिक हस्तक्षेप कम हुने र कार्यक्षमताका आधारमा काम गर्ने प्रहरी कर्मचारीले न्याय पाउने अपेक्षा गरिएको छ। साथै, उनले प्रहरीलाई ढुक्क भएर आफ्नो जिम्मेवारी पूरा गर्न र व्यक्तिगत कामका लागि नेता वा मन्त्रीकहाँ धाउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका छन्।