सर्वोच्चको निर्णयपछि कांग्रेसभित्र नयाँ तरंग, खड्का समूहद्वारा निवर्तमान केन्द्रीय सदस्यको भेला आह्वान

lawanyasandesh.com

साँखु,काठमाण्डौं। नेपाली कांग्रेसभित्र सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै आन्तरिक राजनीतिक गतिविधि तीव्र बनेको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि पार्टीभित्र शक्ति सन्तुलन पुनःपरिभाषित हुने संकेत देखिएको छ।

यही परिवेशमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले आफू निकटका नेताहरूलाई समेट्दै रणनीतिक छलफल अघि बढाउने तयारी गरेको छ। खड्काले आगामी वैशाख १५ गते काठमाडौंको महाराजगञ्जस्थित स्मार्ट होटलमा आफू पक्षीय निवर्तमान केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्।

निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाका अनुसार उक्त बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको वर्तमान संरचना र आगामी रणनीतिबारे गहन छलफल हुने छ। “बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित बहस हुनेछ,” उनले बताइन्।

सर्वोच्च अदालतको निर्णयपछि पार्टीको आधिकारिक नेतृत्व स्पष्ट भए पनि संस्थापन पक्षबाट ठोस राजनीतिक प्रस्ताव सार्वजनिक नभएको अवस्थामा खड्का समूहको यो पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार यो बैठकले कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण र भावी शक्ति सन्तुलनको दिशा निर्धारणमा प्रभाव पार्न सक्छ।
यसअघि वैशाख ६ गते सभापति गगन थापा स्वयं खड्काको निवासमा पुगेर छलफल गरेका थिए। उक्त भेटले पार्टीभित्र सहकार्य र सहमतिको संकेत दिएको मानिए पनि त्यसपछि देखिएको गतिविधिले दुबै पक्षबीच रणनीतिक दूरी अझै बाँकी रहेको आभास गराएको छ।

खड्का समूहले बोलाएको बैठकलाई केवल औपचारिक भेला मात्र नभई आगामी राजनीतिक मार्गचित्र तय गर्ने महत्वपूर्ण मंचका रूपमा हेरिएको छ। पार्टीभित्रको शक्ति समीकरण, संगठनात्मक पुनर्संरचना र नेतृत्वबीचको सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नको उत्तर खोज्न यो बैठक निर्णायक बन्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ।
सर्वोच्चको निर्णयसँगै औपचारिक रूपमा नेतृत्व टुंगिए पनि नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति अझै तरंगित देखिएको छ। यस्तो अवस्थामा खड्का समूहको सक्रियता र त्यसले निम्त्याउने सम्भावित राजनीतिक प्रभावले आगामी दिनमा पार्टीको दिशा निर्धारण गर्ने संकेत गरेको छ।

प्रतिक्रिया