आस्था र संस्कृतिको जीवन्त धरोहर : साँखुको नृसिंह जात्रा

lawanyasandesh.com

शंखरापुर, काठमाडौं — काठमाडौँ उपत्यकाको उत्तर–पूर्वी भेगमा अवस्थित ऐतिहासिक एवं पौराणिक नगरी साँखु केवल प्राचीन वास्तुकला, बज्रयोगिनी मन्दिर र शालीनदीको पवित्रताले मात्र परिचित छैन। यहाँका गल्ली, टोल, गुठी र जात्रापर्वमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका अमूर्त सांस्कृतिक सम्पदाले साँखुको मौलिक पहिचानलाई आज पनि जीवन्त राखेका छन्।


यिनै जीवन्त सम्पदामध्ये धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको ‘साँखु नृसिंह जात्रा’ हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन श्रद्धा र उल्लासका साथ मनाइन्छ। पौराणिक आख्यान, तान्त्रिक परम्परा, गुठी व्यवस्था र सामुदायिक सहभागिताको अनुपम संगमका रूपमा रहेको यो जात्रा साँखुको सांस्कृतिक पहिचानको महत्वपूर्ण आधारसमेत बनेको छ।


देवगणको उपस्थितिले देवमय बन्छ साँखु

परम्परागत ढिमे,खिं, भुस्या लगायतका बाजागाजाको धुन तथा धूँल्लाटोलको भजनसँगै नृसिंह जात्रा सुरु हुँदा साँखुका गल्ली र चोकहरूमा छुट्टै रौनक छाउँछ। घरका झ्याल, कौसी र आँगनबाट स्थानीयवासीले देवगणमाथि पुष्पवृष्टि गर्दै श्रद्धा प्रकट गर्छन्।


जात्रामा नृसिंह भगवान्, महालक्ष्मी, सरस्वती र भक्त प्रह्लादको मुकुट (ख्वापाः) धारण गरेका पात्रहरूले परम्परागत विधिअनुसार नगर परिक्रमा गर्छन्। यस वर्षको नृसिंह महाजात्रामा शंखरापुर साँखुका मूल पुरोहित सुदनराज उपाध्याय नृसिंह भगवान्का रूपमा प्रस्तुत हुनुभएको थियो। महालक्ष्मीको भूमिकामा सुनन्दा श्रेष्ठ, सरस्वतीको भूमिकामा रिजु श्रेष्ठ र भक्त प्रह्लादका रूपमा प्रलक्ष्य श्रेष्ठले परम्परा धान्नुभएका थिए।


देवगणले साँखुका विभिन्न आठवटा टोल (सक्व) परिक्रमा गर्दै स्थानीयवासीलाई सुख, शान्ति र समृद्धिको आशीर्वाद दिने धार्मिक विश्वास रहिआएको छ। ‘साँखु देशः चाःहिलिगु’ अर्थात् नगर परिक्रमा जात्राको प्रमुख आकर्षण हो।

पाटनबाट साँखुसम्म मुकुटको यात्रा

साँखुको नृसिंह जात्राको आधुनिक व्यवस्थापन र निरन्तरताको इतिहास सम्झिँदा २०२९ साललाई महत्वपूर्ण वर्षका रूपमा लिइन्छ।

स्थानीय ९३ वर्षीय ज्येष्ठ नागरिक एवं भक्तजन गोपाल दास श्रेष्ठका अनुसार २०२९ सालमा भीष्म राजोपाध्यायले पाटनबाट नृसिंहको मुकुट ल्याएर साँखुमा व्यवस्थित रूपमा जात्रा सञ्चालन गर्नुभएको थियो। पाटनको प्रसिद्ध नृसिंह जात्राबाट प्रभावित भए पनि त्यसलाई साँखुको मौलिक धार्मिक तथा सांस्कृतिक परिवेशअनुकूल विकास गरिएको उहाँको भनाइ छ।यसरी सुरु भएको परम्पराले पाँच दशकभन्दा लामो यात्रा पूरा गरिसकेको छ।

अधर्ममाथि धर्मको विजयको प्रतीक


हिन्दू पौराणिक मान्यताअनुसार भगवान् विष्णुले भक्त प्रह्लादको रक्षा गर्न तथा अत्याचारी असुरराज हिरण्यकशिपुको वध गर्न आधा मानिस र आधा सिंहको स्वरूपमा नृसिंह अवतार धारण गर्नुभएको थियो।

त्यसैले नृसिंह जात्रा केवल मनोरञ्जन वा धार्मिक प्रदर्शन होइन, अधर्ममाथि धर्म, असत्यमाथि सत्य र अत्याचारमाथि न्यायको विजयको प्रतीकका रूपमा लिइन्छ।


जात्राका क्रममा हुने मुकुट पूजा, विधि–विधान तथा दाफा भजनले यसको धार्मिक र सांस्कृतिक पक्षलाई अझ गहिरो बनाएको छ। विशेषगरी दाफा भजनको मधुर धुनले जात्राको वातावरणलाई थप भक्तिमय बनाउँछ।

गहनादेखि व्यवस्थापनसम्म नयाँ पहल


नृसिंह जात्रालाई व्यवस्थित र निरन्तरता दिन हाल नृसिंह जात्रा व्यवस्थापन समितिमार्फत जात्राको सम्पूर्ण व्यवस्थापन गर्ने अभ्यास अघि बढाइएको छ।


यसअघि नृसिंह भगवानका लागि आवश्यक गरगहना देवी नाचका गहना सापटी लिएर प्रयोग गर्ने परम्परा थियो। अहिले भने शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठ तथा वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठको आर्थिक सहयोगमा भगवान्का लागि आवश्यक गरगहना निर्माण गरिएको छ। यसले जात्राको मौलिकता र व्यवस्थापनलाई थप बलियो बनाएको स्थानीयको भनाइ छ।

गुठी : जात्राको मेरुदण्ड


काठमाडौँ उपत्यकाका अधिकांश सांस्कृतिक पर्वझैँ साँखुको नृसिंह जात्राको आधार पनि गुठी परम्परा नै हो। स्थानीय गुठीयार, ज्येष्ठ नागरिक, युवा तथा सम्पूर्ण साँखुबासीको सामूहिक सहभागिताले जात्रालाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको छ।

जात्राको अवसरमा देखिने सामूहिक सहभागिताले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, भाइचारा र एकताको भावनालाई पनि बलियो बनाउँछ। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहपूर्ण सहभागिताले नयाँ पुस्ताले समेत यो सम्पदालाई आत्मसात् गरिरहेको देखाउँछ।

पुर्खाको नासो, नयाँ पुस्ताको जिम्मेवारी


आधुनिकता र तीव्र सहरीकरणका बीच पनि साँखुले आफ्नो मौलिक सांस्कृतिक पहिचानलाई जोगाइराखेको छ। नृसिंह जात्रा त्यसको एउटा जीवन्त उदाहरण हो।

पुर्खाले जोगाएर दिएको यो अमूल्य सम्पदालाई नयाँ पुस्ताले संरक्षण, अभिलेखीकरण र पुस्तान्तरण गर्न सके मात्र यसको निरन्तरता सम्भव हुनेछ। स्थानीय युवाहरूको सहभागिता र बढ्दो चासोले भने यसतर्फ सकारात्मक संकेत गरेको छ।


नृसिंह जात्रा साँखुको एउटा जात्रा मात्र होइन—यो इतिहास हो, आस्था हो, संस्कार हो र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवित अमूर्त सांस्कृतिक सम्पदा हो। यही सम्पदाले साँखुको मौलिक पहिचानलाई आज पनि जीवन्त राखेको छ।

प्रतिक्रिया