घरदैलोमै चर्कियो विवाद : ललितपुर–२ मा रास्वपा उम्मेदवार जगदीश खरेलमाथि आलोचना तीव्र

lawanyasandesh.com

साँखु,काठमाडौँ/ – ललितपुर क्षेत्र नम्बर २ मा घरदैलो अभियानका क्रममा जगदीश खरेल र स्थानीय मतदाताबीच भएको भनाभन यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवारी दिएका खरेल भोट माग्न पुगेका बेला उत्पन्न विवादको भिडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको हो।


भिडियोमा उम्मेदवार खरेल आक्रोशित मुद्रामा देखिन्छन्। एक मतदाताले रास्वपालाई ‘विदेशी एजेन्ट’को संज्ञा दिँदै प्रश्न उठाएपछि वातावरण तनावग्रस्त बनेको बताइएको छ। त्यसक्रममा खरेलले ती मतदातालाई “४५ वर्षदेखि देश लुट्ने दलका हनुमान” भन्दै प्रतिवाद गरेको दृश्य देखिन्छ।

विवाद यत्तिमै सीमित रहेन। केही मतदाताले खरेलको बार्बरा फाउन्डेसनसँगको आबद्धताबारे समेत जिज्ञासा राखेपछि बहस थप चर्किएको थियो। खरेलले आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै आफ्नो पार्टीले मात्र मुलुकमा वैकल्पिक राजनीति स्थापित गर्न सक्ने दाबी गरेका छन्।

पूर्वसञ्चारमन्त्रीसमेत रहेका खरेल पछिल्लो समय ‘भगौडा मन्त्री’को आरोपबाट समेत घेरिएका छन्। निर्वाचन गराउने उद्देश्यसहित सरकारमा सहभागी भएका उनी मन्त्री पद त्यागेर रास्वपाबाट उम्मेदवार बनेपछि कतिपय स्थानीय असन्तुष्ट देखिएका छन्। निर्वाचन क्षेत्रमा पुग्दा मतदाताले उनको राजनीतिक अडान र नैतिकतामाथि प्रश्न उठाउँदै आलोचना गर्ने घटनाहरू सार्वजनिक भइरहेका छन्।

मतदातालाई ‘हनुमान’ भन्दै अपमानजनक अभिव्यक्ति दिएको आरोप लागेपछि खरेलमाथि चौतर्फी आलोचना भइरहेको छ। राजनीतिक प्रतिस्पर्धामा रहेका मतदाताप्रति असहिष्णु भाषा प्रयोग गर्नु अशोभनीय भएको भन्दै केहीले उनलाई मतमार्फत जवाफ दिनुपर्ने धारणा राखेका छन्।

यसैबीच, अघिल्ला दिनमा आफू कुनै दलसँग आबद्ध नरहेको दाबी गर्ने खरेल हाल रास्वपाबाट उम्मेदवार बनेपछि उनको राजनीतिक यात्रा र प्रतिबद्धतामाथि समेत प्रश्न उठिरहेका छन्। आगामी निर्वाचनमा यस घटनाले कस्तो प्रभाव पार्छ भन्ने विषयमा स्थानीय स्तरमा चासो बढेको छ।

प्रतिक्रिया