साँखु, काठमाडौं । काठमाडौँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुनिल के.सी. ले साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा पछिल्ला दिनमा देखिएको विवाद समाधानका लागि सबै सरोकारवाला निकायसँग समन्वय गरी ठोस पहलि कदम उठाउने जनाउनुभएको छ।
साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जहरशिंपौवा वन उपभोक्ता समितिद्वारा निर्माण भइरहेको पिकनिक स्थलका कारण खानेपानीको मुख्य मुहान क्षेत्र प्रभावित हुन सक्ने भन्दै निर्माण स्थल परिवर्तन गर्न माग गर्दै आएको छ। यस विषयले स्थानीय स्तरमा चासो र बहस बढिरहेका बेला सांसद के.सी.ले समस्या समाधानका लागि सक्रिय भूमिका खेल्ने बताउनुभएको हो।
उहाँले खानेपानीजस्तो संवेदनशील सार्वजनिक स्रोतको संरक्षण पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै विकास निर्माणका योजनाहरू पनि वातावरणीय सन्तुलन र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर अघि बढाइनुपर्ने धारणा राख्नुभयो। “जनताको आधारभूत आवश्यकता खानेपानी हो, त्यसैले पानीको मुहान जोगाउँदै सबै पक्षलाई स्वीकार्य हुने समाधान खोज्नुपर्छ,” उहाँको भनाइ उद्धृत गरिएको छ।
सांसद के.सी.ले स्थानीय तह, वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, सरोकारवाला सरकारी निकाय तथा स्थानीय बासिन्दासँग संयुक्त छलफल गरी विवादको दीर्घकालीन समाधान निकालिने विश्वास व्यक्त गर्नुभयो। उहाँले संवाद, सहकार्य र समझदारीमार्फत समस्या समाधान गर्न आफू कटिबद्ध रहेको स्पष्ट पार्नुभयो।
यसैबीच, साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मुहान क्षेत्र संरक्षण गर्नु स्थानीय जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले समयमै उचित निर्णय हुनुपर्ने माग दोहोर्याएको छ। समितिले विकासका नाममा प्राकृतिक स्रोतमा असर पर्ने गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ।
माननीय के सिले खानेपानीको दीर्घकालीन सुरक्षा तथा संरक्षण गर्न सिमसार मुहान क्षेत्रमा ड्याम्म निर्माण कार्य तथा मुहान क्षेत्रलाई संरक्षण गर्न पहली कदम ससक्ताका साथ अपनाउने जाहेर गर्नु भयो। प्राथमिकतामा राख्दै सबै पक्षबीच सहमतिपूर्ण समाधान निस्कने अपेक्षा गरेका छन्। सांसदको सक्रियतापछि अब यो विषयले व्यवहारिक निकास पाउने आशा गरिएको छ।