साँखु,काठमण्डौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग सम्बन्धित निर्माण कम्पनी तथा निवास–कार्यालयमा सोमबार छापा मारिएपछि त्यसले राजनीतिक तरंग पैदा गरेको छ।
सम्पत्ति शुद्धीकरण विभागको टोलीले काठमाडौँ र हेटौँडास्थित ‘बानियाँ निर्माण सेवा (बीएनएस)’ का कार्यालय तथा सम्बन्धित स्थानहरूमा पुगेर कागजात, आर्थिक अभिलेख र डिजिटल डाटा नियन्त्रणमा लिएको जनाएको छ। विभागले कम्पनीको वित्तीय कारोबार र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान केन्द्रित गरेको बताइएको छ।
यसैबीच मुख्यमन्त्री बानियाँले उक्त छापामारीप्रति गम्भीर आपत्ति जनाएका छन्। सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उनले आफ्नो निवास तथा कार्यालयमा गरिएको छापाले व्यक्तिगत र सामाजिक चरित्रमाथि आघात पुगेको उल्लेख गरेका छन्।
उनले आफू सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणप्रति प्रतिबद्ध रहेको दाबी गर्दै प्रदेश सरकारको खर्च कटौती र आर्थिक मितव्ययिताका लागि निरन्तर प्रयासरत रहेको बताएका छन्। योजना तथा कार्यक्रमहरू आवश्यकता र औचित्यका आधारमा पारदर्शी ढंगले अघि बढाइएको पनि उनले स्पष्ट पारेका छन्।
मुख्यमन्त्री बानियाँले आफ्नो राजनीतिक तथा व्यावसायिक जीवनबारे हुने छानबिनलाई सकारात्मक रूपमा लिएको जनाउँदै राज्यका निकायले बोलाउँदा उपस्थित हुन तयार हुँदाहुँदै अकस्मात् गरिएको छापामारीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। साथै, संवैधानिक तथा कानुनी दायराभित्र हुने अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशवासी तथा आफ्ना शुभेच्छुकहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्।
हालसम्म घटनाबारे थप विस्तृत विवरण सार्वजनिक भइनसकेको भए पनि यसले प्रदेशस्तरमा सुशासन, पारदर्शिता र राजनीतिक उत्तरदायित्वका विषयमा बहसलाई थप तीव्र बनाएको छ।