परीक्षा बोर्डको गम्भीर लापरबाही: रिटोटलिङमा ग्रेड त सञ्चियो, तर ढिलासुस्तीले गुमे उत्कृष्ट विद्यालयमा छात्रवृत्तिको अवसर

lawanyasandesh.com

साँखु,काठमाण्डौं।राष्ट्रिय परीक्षा बोर्ड (NEB) को नतिजा प्रकाशन तथा पुनर्योग (रिटोटलिङ) प्रक्रियामा हुने ढिलासुस्तीका कारण जेहेन्दार विद्यार्थीहरूको शैक्षिक भविष्य प्रभावित भएको भन्दै अभिभावक तथा शिक्षासम्बद्ध सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। प्रारम्भिक नतिजामा देखिएका त्रुटि सच्याउन लामो समय लाग्दा धेरै विद्यार्थी प्रतिष्ठित विद्यालय तथा कलेजहरूमा प्राप्त हुने छात्रवृत्ति र भर्नाका अवसरबाट वञ्चित हुने अवस्था देखिएको छ।

यसैबीच, शंखरापुर नगरपालिका–७ का स्थायी बासिन्दा राजकाजी श्रेष्ठ र रिना श्रेष्ठका छोरा अमान श्रेष्ठ, जो हाल गोकर्णेश्वर नगरपालिका–५ मा बसोबास गर्दै नजिकै रहेको इष्ट–पोल (East Pole) स्कुल मा अध्ययनरत छन्, उनको नतिजा पुनर्योगपछि बोर्डको गम्भीर त्रुटि सार्वजनिक भएको छ। यस किसिमका त्रुटिहरु अन्य विद्यार्थीहरुको पनि देखिएका छ्न्।


प्राप्त विवरणअनुसार सिम्बोल नम्बर ०२९१३३६२ ‘J’ भएका अमान श्रेष्ठलाई अनिवार्य विषय (विषय कोड १०२१) मा प्रारम्भिक नतिजामा ‘A’ ग्रेड (GP 3.6) प्रदान गरिएको थियो। तर विद्यार्थी र अभिभावकले आफ्नो क्षमतामाथि विश्वास राख्दै पुनर्योगका लागि आवेदन दिएपछि पुनः परीक्षणमा उक्त विषयमा ‘A+’ ग्रेड (GP 4.0) कायम भएको पुष्टि भयो।

ग्रेड सच्यियो, तर अवसर फर्किएन


अमान श्रेष्ठको ग्रेड सुधार भए पनि त्यसको प्रत्यक्ष लाभ भने प्राप्त हुन सकेन। परिमार्जित नतिजा सार्वजनिक हुँदासम्म काठमाडौँ उपत्यकाका धेरै प्रतिष्ठित कलेज तथा विद्यालयहरूमा छात्रवृत्ति आवेदनको समयसीमा समाप्त भइसकेको थियो भने कतिपय संस्थाहरूले भर्ना प्रक्रिया समेत टुङ्ग्याइसकेका थिए।

यसले एउटा गम्भीर प्रश्न उठाएको छ—यदि विद्यार्थी सुरुबाटै सही मूल्याङ्कन पाएको भए उनले प्राप्त गर्न सक्ने छात्रवृत्ति तथा शैक्षिक अवसरको क्षतिपूर्ति कसले गर्ने?

अभिभावकमाथि थपिँदै आर्थिक भार

शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरूका अनुसार यस्ता त्रुटिका कारण छात्रवृत्तिबाट अध्ययन गर्न सक्ने क्षमता भएका विद्यार्थीहरू महँगो शुल्क तिरेर अध्ययन गर्न बाध्य हुने अवस्था सिर्जना भएको छ। यसले विशेषगरी मध्यम वर्गीय परिवारहरूलाई आर्थिक रूपमा थप दबाबमा पार्ने गरेको छ।

अमान श्रेष्ठको परिवारले पनि समयमै सही नतिजा प्राप्त भएको भए थप अवसरहरू हासिल गर्न सकिने अवस्था रहेको बताएको छ।

मानसिक स्वास्थ्यमा समेत असर

शैक्षिक मनोविज्ञानका जानकारहरूका अनुसार अपेक्षाभन्दा कम नतिजा आउँदा विद्यार्थीहरू मानसिक तनाव, निराशा तथा आत्मविश्वासको कमी जस्ता समस्याबाट प्रभावित हुन सक्छन्। पछि त्रुटि सच्याएर ग्रेड बढाइए पनि गुमेको अवसर फिर्ता नआउने भएकाले विद्यार्थीमा थप निराशा पैदा हुन सक्छ।

पुनर्योग प्रक्रियालाई द्रुत बनाउन माग

अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूले राष्ट्रिय परीक्षा बोर्डसँग पुनर्योग प्रक्रियालाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन माग गरेका छन्। उनीहरूका अनुसार लाखौँ विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क प्रविष्टि र नतिजा प्रकाशन प्रक्रियामा उच्च स्तरको जिम्मेवारी आवश्यक छ।

सरोकारवालाहरूले भविष्यमा पुनर्योगका लागि ‘फास्ट ट्र्याक’ प्रणाली लागू गरी विद्यार्थीहरूको छात्रवृत्ति, भर्ना तथा अन्य शैक्षिक अवसर सुरक्षित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले नतिजाको शुद्धता सुनिश्चित गर्दै पुनर्योग प्रक्रियालाई समयमै सम्पन्न गर्न नसकेमा यस्ता घटनाले शिक्षा प्रणालीप्रतिको विश्वास कमजोर हुने तथा हजारौँ प्रतिभाशाली विद्यार्थीहरूको भविष्यमा प्रतिकूल असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रिया