कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन।

lawanyasandesh.com

शंखरापुर,काठमाण्डौं।नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वउपप्रधानमन्त्री तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठको मंगलबार निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेका ८६ वर्षीय श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ।


कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा राखिनेछ। त्यसपछि पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागितामा शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।

नेपाली कांग्रेसले श्रेष्ठको लामो राजनीतिक योगदानको कदर गर्दै केही दिनअघि मात्रै उनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरेको थियो। उनी यसअघि पार्टीका उपसभापति तथा नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका अनुभवी राजनीतिज्ञ थिए।

स्याङ्जाबाट पटक–पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठले विभिन्न समयमा भौतिक योजना, वन, उद्योग, शिक्षा तथा उपप्रधानमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए। लोकतन्त्र, बहुदलीय व्यवस्था र नागरिक अधिकारको पक्षमा उनको योगदान नेपाली राजनीतिक इतिहासमा विशेष रूपमा स्मरणीय रहने राजनीतिक वृत्तले जनाएको छ।

श्रेष्ठले २०१७ सालपछि प्रजातन्त्र पुनर्स्थापनाका विभिन्न आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका थिए। २०३६ सालको जनमत सङ्ग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनमा उनी अग्रपङ्क्तिमा सक्रिय रहे। लोकतान्त्रिक आन्दोलनकै क्रममा उनले विभिन्न समयमा गरी करिब पाँच वर्ष जेल जीवनसमेत बिताएका थिए।

विगत करिब एक वर्षदेखि क्यान्सरको उपचार गराइरहेका श्रेष्ठले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराएका थिए। स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि उनले पछिल्लो समयसम्म पार्टीका गतिविधि र लोकतान्त्रिक अभियानप्रति आफ्नो सक्रियता कायम राखेका थिए। गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा समेत उनी सहभागी भएका थिए।

उनको निधनप्रति नेपाली कांग्रेसका शीर्ष नेताहरू, विभिन्न राजनीतिक दल, शुभेच्छुक तथा नागरिक समाजका प्रतिनिधिहरूले गहिरो दुःख व्यक्त गर्दै लोकतन्त्र, संविधान र पार्टी संगठन निर्माणमा उनले पुर्‍याएको योगदानको उच्च सम्मान गरेका छन्। उनी निष्ठा, त्याग, सरलता र लोकतान्त्रिक मूल्यप्रतिको अटल प्रतिबद्धताका कारण नेपाली राजनीतिक वृत्तमा सधैं सम्मानका साथ स्मरण गरिने नेताका रूपमा रहने विश्वास व्यक्त गरिएको छ।

नेता गोपालमान श्रेष्ठको निधनसँगै नेपाली लोकतान्त्रिक आन्दोलनले एक अनुभवी, संघर्षशील र समर्पित नेतृत्व गुमाएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया