साँखु, काठमाण्डौं । भारतका प्रधानमन्त्री नरेद्र मोदिको हालै सम्पन्न पाँच राष्ट्रको विदेश भ्रमणका क्रममा Norway मा घटेको एउटा घटनाले अन्तर्राष्ट्रिय सञ्चार जगतमा ठूलो बहस सिर्जना गरेको छ । नर्वेकी पत्रकार Helle Løng ले सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री मोदीलाई प्रेस स्वतन्त्रता र पत्रकारका प्रश्न नलिने विषयमा प्रत्यक्ष प्रश्न गरेपछि विश्वभर यसको चर्चा चुलिएको हो ।
नर्वेका प्रधानमन्त्री Jonas Gahr Støre सँगको संयुक्त पत्रकार सम्मेलन समाप्त भएपछि प्रधानमन्त्री मोदी कार्यक्रमस्थलबाट बाहिरिने क्रममा थिए । त्यही बेला पत्रकार हेलाले प्रश्न गर्दै भनिन्, “प्रधानमन्त्री मोदी, तपाईं विश्वकै स्वतन्त्र प्रेसका प्रश्नहरू किन लिनुहुन्न ?”
उक्त प्रश्नपछि केही समय वातावरण असहज बनेको थियो । प्रधानमन्त्री मोदीले भने कुनै प्रतिक्रिया नदिई कार्यक्रमस्थलबाट बाहिरिएका थिए । त्यसपछि सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय समाचारमाध्यम तथा राजनीतिक वृत्तमा यस विषयले व्यापक चर्चा पाएको छ ।
बीबीसी हिन्दीसँगको कुराकानीमा पत्रकार हेलाले आफूले पत्रकारिताको धर्म निभाएको बताएकी छन् । उनले भनिन्, “जब कुनै शक्तिशाली राष्ट्रका नेता हाम्रो देशमा आउँछन्, तब उनीहरूलाई प्रश्न गर्नु पत्रकारको जिम्मेवारी हो । मलाई थाहा थियो प्रधानमन्त्री मोदी प्रायः प्रश्न लिनुहुन्न, तर प्रश्न सोध्नु मेरो पेशागत दायित्व थियो ।”
घटनापछि भारतीय दूतावास तथा विदेश मन्त्रालयले हेलालाई औपचारिक प्रेस ब्रिफिङमा निमन्त्रणा दिएको बताइएको छ । उक्त कार्यक्रममा भारतीय विदेश मन्त्रालयका सचिव C. B. George र पत्रकार हेलाबीच प्रेस स्वतन्त्रता, मानवअधिकार तथा लोकतान्त्रिक अभ्यासबारे लामो बहस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
हेलाका अनुसार उनले भारतमा पत्रकारमाथिको दबाब, अभिव्यक्ति स्वतन्त्रता तथा मानवअधिकारको अवस्थाबारे प्रश्न उठाएकी थिइन् । तर भारतीय अधिकारीहरूले त्यसको प्रत्यक्ष जवाफ दिनुको सट्टा योग, कोरोना महामारीका बेला भारतले विश्वलाई उपलब्ध गराएको खोप तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भारतको योगदानबारे चर्चा गर्दै विषय मोड्न खोजेको उनको आरोप छ ।
पत्रकार हेलाले भनिन्, “म कुनै देशको प्रशंसा सुन्न प्रेस कन्फरेन्समा गएको होइन । पत्रकारका प्रश्नको स्पष्ट उत्तर पाउनु नै प्रेस सम्मेलनको उद्देश्य हो ।”
यस घटनापछि भारतको प्रेस स्वतन्त्रताको अवस्थाबारे पुनः बहस सुरु भएको छ । विश्व प्रेस स्वतन्त्रता सूचकांकअनुसार Norway लगातार विश्वकै पहिलो स्थानमा रहेको छ भने India पछिल्ला वर्षहरूमा खस्किँदै १५७औँ स्थानमा पुगेको तथ्य सार्वजनिक भइसकेको छ ।
विश्लेषकहरूका अनुसार शक्तिशाली तथा ठूलो लोकतान्त्रिक देशको रूपमा परिचित भारतमा पछिल्लो समय प्रेसमाथिको नियन्त्रण, आलोचनात्मक प्रश्नबाट टाढा रहने प्रवृत्ति तथा विदेशी सञ्चारमाध्यमप्रति देखाइने कठोर व्यवहारमाथि प्रश्न उठ्दै गएको छ । भारत भ्रमणका क्रममा कतिपय विदेशी सञ्चार एजेन्सी तथा स्वतन्त्र पत्रकारलाई सीमित पहुँच दिने, प्रेस गतिविधिमा निगरानी बढाउने तथा औपचारिक कार्यक्रमहरूमा खुला प्रश्नोत्तर कम गर्ने प्रवृत्तिले प्रेस स्वतन्त्रताको अनुभूति कमजोर बन्दै गएको टिप्पणी अन्तर्राष्ट्रिय वृत्तमा सुनिन थालेको छ ।
कतिपय सञ्चार विश्लेषकहरूले भारतीय मूलधारका केही सञ्चारमाध्यम तथा टेलिभिजन बहसहरूमा छिमेकी तथा साना राष्ट्रहरूप्रति आक्रामक, तल्लोस्तरको तथा अपमानजनक शैलीमा प्रस्तुत हुने प्रवृत्तिले पनि भारतको सञ्चार संस्कृतिमाथि प्रश्न उठाएको उल्लेख गरेका छन् । विशेषगरी राष्ट्रवादको नाममा अन्य देशलाई कमजोर देखाउने शैलीले दक्षिण एशियाली सञ्चार वातावरणलाई थप तनावपूर्ण बनाउने गरेको टिप्पणी हुने गरेको छ ।
नर्वेमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग नियमित संवाद गर्ने परम्परा रहेको उल्लेख गर्दै पत्रकार हेलाले भारतमा पत्रकारिताको वातावरण चुनौतीपूर्ण बन्दै गएको टिप्पणी गरेकी छन् । उनले पत्रकारहरूले निकै सावधानी अपनाएर काम गर्नुपर्ने अवस्था रहेको बताउँदै प्रेस स्वतन्त्रताको पक्षमा आफू निरन्तर बोलिरहने स्पष्ट पारेकी छन् ।
प्रधानमन्त्री मोदीले विदेश भ्रमणका क्रममा पत्रकार सम्मेलनमा निकै सीमित मात्र प्रश्न लिने गरेको विषय यसअघि पनि चर्चामा आउने गरेको थियो । सन् २०२३ को अमेरिका भ्रमण तथा २०२५ को प्रारम्भमा भएका केही अन्तर्राष्ट्रिय कार्यक्रममा मात्रै उनले सीमित प्रश्नको सामना गरेका थिए ।
यस घटनाले शक्तिशाली राजनीतिक नेतृत्वको सार्वजनिक जवाफदेहिता, लोकतान्त्रिक अभ्यास, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारमाध्यमको भूमिकाबारे अन्तर्राष्ट्रिय स्तरमै पुनः गम्भीर बहस सुरु गराएको विश्लेषकहरूको भनाइ छ ।