विश्व वातावरण दिवसको अवसरमा देशव्यापी ‘ग्रीन नेपाल राष्ट्रिय अभियान’ सञ्चालन हुँदै

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं ।

विश्व वातावरण दिवसको अवसर पारेर ‘ग्रीन नेपाल राष्ट्रिय अभियान’ अन्तर्गत देशभर आयमूलक तथा बहुमूल्य बिरुवाको वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने भएको छ। ‘मिसन ग्रीन नेपाल एग्रो एण्ड फोरेस्ट्री प्रा. लि.’ को मुख्य अग्रसरतामा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहकार्यमा सञ्चालन हुन लागेको अभियानले वातावरण संरक्षणसँगै आर्थिक समृद्धिलाई पनि प्राथमिकतामा राखेको छ।

यस वर्ष अभियानले “आयमूलक बिरुवाहरू वृक्षारोपण गरौँ” भन्ने नारासहित उच्च आर्थिक मूल्य भएका तथा वातावरणीय दृष्टिले महत्वपूर्ण बिरुवाहरूको रोपण, संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिएको छ। अभियानअन्तर्गत रक्तचन्दन, श्रीखण्ड, बुद्धचित्त, अगरउड, रुद्राक्ष, मोरिङ्गा (सहिजन), बेलपत्र, ड्रागन फ्रुट तथा तेजपात लगायतका बहुमूल्य, औषधीय तथा धार्मिक महत्वका बिरुवाहरू समावेश गरिएका छन्।

देशभर सञ्चालन हुन लागेको यस अभियानलाई सफल बनाउन स्थानीय तह, वडा कार्यालय, विद्यालय, सामाजिक संघसंस्था तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ। यसैक्रममा शंखरापुर नगरपालिका वडा नं. ९ ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अभियानसम्बन्धी सूचना सार्वजनिक गर्दै शंखरापुर नगरपालिकाका सम्पूर्ण नगरवासीलाई सहभागिताका लागि आग्रह गरेको छ।


वडा अध्यक्ष शहदेव श्रेष्ठ का अनुसार वडाको आधिकारिक फेसबुकमार्फत सूचना सार्वजनिक गर्नुको मुख्य उद्देश्य नगरवासीलाई सहुलियत दरमा उपलब्ध गराइएका आयमूलक तथा बहुमूल्य बिरुवाहरू खरिद गर्न प्रेरित गर्नु र हरियाली विस्तार अभियानमा जोड्नु हो। उनले शंखरापुर नगरपालिकाका नागरिकहरूलाई उपलब्ध सहुलियतको लाभ उठाउँदै बिरुवा खरिद गर्न तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउन आग्रह गरेका छन्।

“हरियाली विस्तार, वातावरण संरक्षण र भविष्यमा आर्थिक प्रतिफल प्राप्त गर्न सकिने यस्ता बिरुवाहरूको वृक्षारोपण आजको आवश्यकता हो। शंखरापुरलाई अझ हराभरा, स्वच्छ र वातावरणमैत्री नगरका रूपमा विकास गर्न सबै नगरवासीको सक्रिय सहभागिता आवश्यक छ,” अध्यक्ष श्रेष्ठले बताएका छन्।

उनका अनुसार अभियानले वातावरणीय सन्तुलन कायम राख्नुका साथै स्थानीय स्तरमा आयआर्जनका अवसर सिर्जना गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी रक्तचन्दन, श्रीखण्ड, बुद्धचित्त, रुद्राक्ष, अगरउड तथा अन्य बहुमूल्य बिरुवाहरू दीर्घकालीन रूपमा आर्थिक लाभ दिने भएकाले नागरिकहरूले यस अवसरको सदुपयोग गर्नुपर्ने उनले बताए।

स्थानीय तह र विद्यालयलाई विशेष अनुदान

अभियानमा सहभागी हुने पालिका, वडा कार्यालय, विद्यालय तथा विभिन्न संघसंस्थालाई विशेष अनुदान छुटमा बिरुवाहरू उपलब्ध गराइने व्यवस्था गरिएको आयोजकले जनाएको छ। उच्च गुणस्तरका ६ देखि १२ महिना उमेरका तथा करिब १.५ देखि २ फिट उचाइ भएका बिरुवाहरूमा आकर्षक सहुलियत प्रदान गरिएको छ।

आयोजकका अनुसार रक्तचन्दनको प्रतिविरुवा मूल्य रु १,००० रहेकामा रु ७७५ अनुदान छुटपछि लागत मूल्य रु २२५ कायम गरिएको छ। त्यस्तै श्रीखण्डमा रु ६०० अनुदान छुट दिई रु २०० मा तथा बुद्धचित्तमा रु ४२० छुटसहित रु १८० मा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

ग्रीन नेपाल’ मोबाइल एपबाट व्यवस्थापन

अभियानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘ग्रीन Nepal’ नामक मोबाइल एप सञ्चालनमा ल्याइएको छ। एपमार्फत कृषक तथा सरोकारवालाले बिरुवा खरिद गर्न सक्नेछन् भने कृषकहरूले आफ्ना कृषि तथा वनजन्य उत्पादनहरू देशभर बजारसम्म पुर्‍याउने अवसर समेत प्राप्त गर्नेछन्।

आयोजकले अभियानसँग सम्बन्धित गतिविधि, वृक्षारोपणको प्रगति तथा कृषकहरूको सहभागितालाई डिजिटल माध्यमबाट अभिलेखीकरण गर्ने तयारी समेत गरेको जनाएको छ। कार्यक्रमका प्रमुख गतिविधिहरू राष्ट्रिय टेलिभिजन तथा विभिन्न सञ्चार माध्यमबाट प्रसारण गरिने जानकारी दिइएको छ।

सातै प्रदेशमा व्यवस्थापक तोकिए

देशव्यापी रूपमा अभियान सञ्चालन गर्न सातै प्रदेशका लागि प्रादेशिक व्यवस्थापकहरू तोकिएका छन्। कोशी प्रदेशमा रमिला प्रधान, मधेश प्रदेशमा सीता विष्ट, बागमती प्रदेशमा अनुशा पौड्याल, गण्डकी प्रदेशमा सबिना राई, लुम्बिनी प्रदेशमा प्रतिभा दाहाल, कर्णाली प्रदेशमा कल्पना बुढा तथा सुदूरपश्चिम प्रदेशमा अस्मिता परियारले अभियानको नेतृत्व गर्नेछन्।

अभियानलाई मनोहरा जेसीज, नेपाल स्काउट, संघर्ष जन–आवाज मिडिया, प्याब्सन, पेट्सान, नार्मिन तथा मुआन लगायतका संस्थाहरूले सहयोग गरिरहेका छन्।

अभियानका व्यवस्थापक अमित ब्रमाले वातावरणीय सन्तुलन कायम राख्न, वन क्षेत्र विस्तार गर्न, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तथा ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन यस्ता आयमूलक वृक्षारोपण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। उनले स्थानीय सरकार, शैक्षिक संस्था, सामाजिक संघसंस्था तथा आम नागरिकको सक्रिय सहभागिताबिना अभियानको उद्देश्य पूरा हुन नसक्ने उल्लेख गर्दै सबैलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

वातावरण संरक्षण र आर्थिक समृद्धिलाई एउटै सूत्रमा जोड्ने लक्ष्यसहित सुरु हुन लागेको ‘ग्रीन नेपाल राष्ट्रिय अभियान’ले देशभर हरियाली विस्तारसँगै दीर्घकालीन आयआर्जनको नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ। शंखरापुर नगरपालिका वडा नं. ९ ले समेत नगरवासीलाई यस अवसरको अधिकतम लाभ उठाउँदै घर–आँगन, खेतबारी तथा सार्वजनिक स्थलहरूमा वृक्षारोपण गरी हरियाली अभियानलाई सफल बनाउन आह्वान गरेको छ।

प्रतिक्रिया