विषयगत सूची र समयसीमा बनाएर अघि बढ्न मोदीको प्रस्ताव, रवि लामिछानेसँग उच्चस्तरीय छलफल

lawanyasandesh.com

साँखु,काठमाण्डौं। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न विषयलाई प्राथमिकताका आधारमा सूचीबद्ध गरी निश्चित समयसीमासहित कार्यान्वयनमा लैजाने विषयमा महत्वपूर्ण छलफल भएको छ।

भेटपछि रास्वपाका विदेश विभाग प्रमुख दीपक बोहोराले दिएको जानकारीअनुसार प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच लामो समयदेखि उठ्दै आएका विभिन्न द्विपक्षीय विषयहरूको स्पष्ट सूची तयार गरी तिनलाई प्राथमिकताका आधारमा वर्गीकरण गर्न र प्रत्येक विषयमा कार्यान्वयनको समयसीमा निर्धारण गरेर अघि बढ्न भारत सरकार तयार रहेको बताएका छन्।

बोहोराका अनुसार प्रधानमन्त्री मोदीले “विषयहरूको लिस्ट बनाऔं, प्राथमिकता तय गरौँ, टाइमलाइन दिऔँ र परिणाम देखिने गरी काम गरौँ” भन्ने धारणा राख्दै दुई देशबीचका मुद्दालाई व्यवहारिक र परिणाममुखी ढंगले समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका थिए।

पाँचदिने भारत भ्रमणमा रास्वपा टोली

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा रास्वपा सभापति लामिछाने नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि भारत पुगेको हो। जेठ १८ गते भारत प्रस्थान गरेको टोलीमा लामिछानेकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख तथा सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सहभागी छन्।

भ्रमणका क्रममा टोलीले भारतका गृहमन्त्री तथा अन्य उच्च राजनीतिक नेतृत्वसँग समेत भेटवार्ता गरिसकेको बताइएको छ। यसअघि भारतीय गृहमन्त्री र परराष्ट्रमन्त्रीसँग भएको भेटमा समेत नेपाल–भारत सम्बन्ध, सीमा व्यवस्थापन, व्यापार, लगानी, ऊर्जा, पर्यटन, पूर्वाधार विकास तथा जनस्तरको सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको जनाइएको छ।

किन महत्वपूर्ण छ मोदीको ‘टाइमलाइन मोडेल’?

नेपाल–भारत सम्बन्धमा विगतदेखि नै सीमा विवाद, व्यापार असन्तुलन, ऊर्जा व्यापार, पारवहन सुविधा, पूर्वाधार निर्माण, जलस्रोत उपयोग, हवाई र स्थल यातायात विस्तार, श्रमिक तथा नागरिकस्तरका समस्या लगायतका अनेक विषय उठ्दै आएका छन्। तर धेरैजसो विषयहरू छलफलमै सीमित हुने र कार्यान्वयनमा ढिलाइ हुने गुनासो रहँदै आएको छ।

यस्तो अवस्थामा प्रधानमन्त्री मोदीले विषयगत सूची तयार गरेर प्राथमिकता र समयसीमा निर्धारण गर्ने अवधारणा अघि सारेको सन्देशलाई कूटनीतिक वृत्तमा सकारात्मक रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार स्पष्ट कार्ययोजना र समयसीमा तय भएमा नेपाल–भारत सम्बन्धका जटिल तथा दीर्घकालीन मुद्दाहरू समाधानतर्फ अघि बढ्न सक्ने सम्भावना बढ्नेछ।

सम्बन्ध विस्तारमा नयाँ संकेत

रास्वपा नेतृत्वको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा उदाउँदै गरेको नयाँ राजनीतिक संवादको अवसरका रूपमा पनि हेरिएको छ। नेपालमा पछिल्ला वर्षहरूमा उदाएको नयाँ राजनीतिक शक्तिको नेतृत्वसँग भारतको शीर्ष नेतृत्वले प्रत्यक्ष संवाद गर्नु आफैंमा महत्वपूर्ण कूटनीतिक सन्देश मानिएको छ।

दुवै पक्षले आपसी विश्वास, सहकार्य र पारस्परिक हितलाई केन्द्रमा राखेर सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। भ्रमणका क्रममा भएका भेटवार्ताले आगामी दिनमा नेपाल–भारत सम्बन्धका विविध आयाममा थप सहकार्य र संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया