शंखरापुर, काठमाण्डौं।नेपाली समाजको धार्मिक, सांस्कृतिक तथा कृषिजन्य जीवनसँग अभिन्न रूपमा जोडिएको साउने संक्रान्ति आज देशभर श्रद्धा, आस्था र उल्लासका साथ मनाइँदैछ। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने यस दिनलाई कर्कट संक्रान्तिका रूपमा पनि चिनिन्छ। आजदेखि सूर्यको दक्षिणायन यात्रा प्रारम्भ हुने धार्मिक विश्वास रहँदै आएको छ। हिन्दू धर्मावलम्बीहरूले उत्तरायण र दक्षिणायनलाई विशेष धार्मिक महत्त्वका साथ मनाउने परम्परा रहिआएको छ।
देशभरका नदी, कुण्ड तथा तीर्थस्थलहरूमा बिहानैदेखि श्रद्धालुहरूले पवित्र स्नान गरी पूजा–आराधना, दान, धर्म, आफन्तसँग भेटघाट तथा विविध धार्मिक गतिविधिमार्फत साउने संक्रान्ति मनाएका छन्। विशेषगरी भगवान् शिवप्रतिको आस्था व्यक्त गर्दै प्रमुख शिवालयहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
साँखुका संस्कृतिविद् प्रकाशमान सकोका अनुसार दक्षिणायनलाई धार्मिक रूपमा पितृहरूको समय मानिन्छ। यस अवधिमा ध्यान, साधना, आत्मचिन्तन तथा धार्मिक अनुष्ठानको विशेष महत्त्व रहने विश्वास छ। वैज्ञानिक दृष्टिकोणले पनि आजदेखि सूर्यको दक्षिणी गोलार्द्धतर्फको यात्रा प्रारम्भ हुने भएकाले दिन क्रमशः छोटो र रात लामो हुँदै जान्छ। यससँगै मनसुनी वर्षा सक्रिय भई कृषि कार्य, विशेषगरी धान रोपाइँ र खेतीपातीका लागि अनुकूल वातावरण सिर्जना हुने मान्यता छ।
साउन महिनाभर धेरै श्रद्धालुहरूले भगवान् शिवप्रतिको आस्था व्यक्त गर्दै माछा–मासु, मदिरा तथा अन्य मादक पदार्थ सेवन नगर्ने, सात्विक भोजन गर्ने, व्रत बस्ने र नियमित पूजा–आराधना गर्ने परम्परा पछिल्ला वर्षहरूमा अझ बढ्दै गएको देखिन्छ। विशेषगरी युवा पुस्तामा समेत धार्मिक अनुशासन र सात्विक जीवनशैली अपनाउने प्रवृत्ति विस्तार हुँदै गएको स्थानीयहरू बताउँछन्।
साउने संक्रान्तिसँगै नेपाली समाजमा प्राचीनकालदेखि चलिआएको 'लुतो फाल्ने' मौलिक परम्परा पनि आज साँझ विभिन्न स्थानमा निर्वाह गरिँदैछ। असारभर हिलो–मैलोमा धान रोपाइँमा व्यस्त रहने किसान तथा सर्वसाधारणले छालासम्बन्धी रोगबाट बच्ने जनविश्वासका साथ कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती लगायत औषधीय वनस्पतिको प्रयोग गरी पूजा गर्ने र बलिरहेको अगुल्टो घरबाहिर फालेर रोगव्याधि तथा अशुभ शक्तिलाई घरबाट विदा गरिएको कामना गर्ने चलन आज पनि कायम छ।
यता ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक नगर शंखरापुर (साँखु) मा पनि साउने संक्रान्तिको विशेष रौनक छाएको छ। वडा नं. ४ स्थित महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति देखिएको छ। स्थानीय महादेव झरना (माद्यो झ्वाला) बाट पवित्र जल ल्याई ऐतिहासिक ६४ ज्योतिर्लिङ्गेश्वर मध्य साँखुको महादेवस्थान रहेको ३४ औं ज्योतिर्लिङ्गेश्वर महादेवमा चढाउने परम्पराअनुसार श्रद्धालुहरूले जलाभिषेक गरेका छन्। साउन महिनाभर, विशेषगरी प्रत्येक सोमबार, यहाँ दर्शन र जलाभिषेक गर्ने भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ।
यसैगरी, स्वस्थानी व्रतका लागि प्रसिद्ध शालिनदीमा श्रद्धालुहरूले पवित्र स्नान गरी श्री माधवनारायण भगवान् तथा स्वस्थानी माताको दर्शन गरेका छन्। साँखुको प्रसिद्ध बज्रयोगिनी मन्दिरमा पनि अन्य दिनको तुलनामा भक्तजनहरूको उल्लेख्य चहलपहल देखिएको छ। धार्मिक पर्यटन र स्थानीय आस्थाको केन्द्रका रूपमा रहेका यी सम्पदाहरूमा दिनभर दर्शनार्थीहरूको आवागमन जारी रहेको छ।
साउन महिना धार्मिक आस्थासँगै हरियाली र सौन्दर्यको पर्वका रूपमा पनि परिचित छ। हरियो साडी, हरियो चुरा, पोते र मेहन्दीले सजिएका महिलाहरूको उपस्थितिले बजारहरू झनै आकर्षक बनेका छन्। यसको प्रत्यक्ष प्रभाव शंखरापुरको ऐतिहासिक साँखु बजारमा पनि देखिएको छ। हरियो साडी, चुरा, पोते, मेहन्दी तथा सौन्दर्य सामग्री खरिद गर्नेहरूको भीडका कारण कपडा तथा कस्मेटिक पसलहरूमा बिहानैदेखि चहलपहल बढेको छ।
साँखु बजारस्थित 'न्हुँ वहाँ कस्मेटिक' पसलकी सञ्चालक सजना श्रेष्ठका अनुसार यस वर्ष अघिल्ला वर्षजस्तो व्यापार नभए पनि नयाँ–नयाँ डिजाइनका हरिया चुरा, पोते, मेहन्दी तथा अन्य सौन्दर्य सामग्रीको बिक्री सन्तोषजनक रहेको छ। "पहिलेजस्तो अत्यधिक व्यापार त छैन, तर नयाँ डिजाइनका सामग्रीको राम्रो माग छ। अन्य महिनाको तुलनामा साउनमा बिक्री–वितरण बढेको छ," उनले बताइन्।
धार्मिक आस्था, सांस्कृतिक परम्परा, कृषिजन्य जीवन, प्राकृतिक हरियाली र स्थानीय व्यापार–व्यवसायलाई एकै सूत्रमा जोड्ने साउने संक्रान्तिले यस वर्ष पनि देशभर उत्साह, उमङ्ग र भक्तिभावको वातावरण सिर्जना गरेको छ। विशेषगरी ऐतिहासिक शंखरापुर (साँखु) का ज्योतिर्लिङ्गेश्वर महादेव, शालिनदी, बज्रयोगिनी क्षेत्र तथा साँखु बजारमा देखिएको चहलपहलले साउने संक्रान्तिको मौलिकता, धार्मिक महत्त्व र स्थानीय सांस्कृतिक जीवन्ततालाई अझ उजागर गरेको छ।