राष्ट्रिय आविष्कार केन्द्र प्रवर्द्धन अभियान लिएर वैज्ञानिक महावीर पुन साँखुमा

lawanyasandesh.com

साँखु काठमाण्डौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा चर्चित वैज्ञानिक महावीर पुन आफ्नो पुस्तक बिक्री–वितरण अभियानका क्रममा ऐतिहासिक तथा पौराणिक नगर साँखु पुगेका छन्। आविष्कार, अनुसन्धान र स्वदेशी प्रविधि विकासलाई सहयोग जुटाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियान अन्तर्गत पुनको टोलीले शनिवार साँखुका विभिन्न स्थानमा पुगेर पुस्तक बिक्री गरेको हो।
टोलीले सुपा ख्यो भाग्योदय क्षेत्र (पुरानो बसपार्क), ढलंको चोक तथा शालीनदी चोकलगायतका स्थानमा बसेर पुस्तक बिक्री गरेको स्थानीयले बताएका छन्। अभियानकै क्रममा साँखु क्षेत्रमा मात्रै करिब २१० वटा पुस्तक बिक्री भएको टोलीका सदस्यहरूले जानकारी दिएका छन्।


राष्ट्रिय आविष्कार केन्द्रको प्रवर्द्धन तथा आर्थिक सहयोग जुटाउने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन गरिएको यो अभियानप्रति साँखुवासीले उत्साहजनक साथ दिएको टोलीको भनाइ छ। स्थानीय युवादेखि बुद्धिजीवी, व्यवसायी तथा सर्वसाधारणले वैज्ञानिक पुनसँग भेटघाट गर्दै पुस्तक खरिद गरेका थिए।



टोलीका एक सदस्यका अनुसार दैनिक न्यूनतम ५०० वटा पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको छ। साँखुमा निर्धारित कार्यक्रम सम्पन्न गरेपछि टोली अपराह्न ४ः४० बजे थली–कागेश्वरी क्षेत्रतर्फ प्रस्थान गरेको बताइएको छ।
नेपालमा वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका महावीर पुन पछिल्लो समय पुस्तक बिक्री अभियानमार्फत राष्ट्रिय आविष्कार केन्द्रका लागि सहयोग जुटाइरहेका छन्। देशका विभिन्न शहर तथा बस्तीमा पुगेर प्रत्यक्ष रूपमा जनतासँग भेटघाट गर्दै पुस्तक बिक्री गर्ने उनको अभियानलाई सर्वसाधारणले सकारात्मक रूपमा लिइरहेका छन्।
ऐतिहासिक सम्पदा, सांस्कृतिक पहिचान र धार्मिक महत्त्व बोकेको साँखुमा महावीर पुनको उपस्थितिले स्थानीयमा विशेष उत्साह देखिएको थियो। स्थानीयहरूले स्वदेशमै अनुसन्धान र आविष्कारलाई प्रोत्साहन गर्न यस्ता अभियानलाई राज्य तथा समाजले थप सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया