उचित क्षतिपूर्ति र पुनर्वासपछि मात्रै सुकुम्बासी बस्ती हटाउन हर्क साम्पाङको सुझाव

lawanyasandesh.com

साँखु,काठमाण्डौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले सरकारले सुकुम्बासी बस्ती हटाउने तयारी थालेको विषयमा आपत्ति जनाउँदै तत्काल उक्त अभियान रोक्न आग्रह गरेका छन्।

शनिबारदेखि काठमाडौँका विभिन्न सुकुम्बासी बस्ती खाली गराउने तयारी भइरहेको सन्दर्भमा विज्ञप्ति जारी गर्दै उनले सरकारलाई बल प्रयोगको बाटो त्यागेर संवाद, क्षतिपूर्ति र व्यवस्थित पुनर्वासलाई प्राथमिकता दिन सुझाव दिएका हुन्। उनका अनुसार लामो समयदेखि बसोबास गर्दै आएका नागरिकहरूले आफ्नो जीवनभरको कमाइ लगानी गरी घर निर्माण गरेका छन्, जसप्रति राज्य संवेदनशील हुनुपर्ने उनले उल्लेख गरेका छन्।

साम्पाङले विगतमा स्थानीय तह तथा राज्य संयन्त्रकै मौन स्वीकृतिमा ती बस्तीहरू बसोबासमा आएका हुन सक्ने भन्दै त्यसको जिम्मेवारी पनि राज्यले लिनुपर्ने बताएका छन्। “उचित क्षतिपूर्ति र पुनर्वासको सुनिश्चितता नगरी बस्ती खाली गराउने कार्यले नागरिकलाई बेघर बनाउने मात्र होइन, सुशासन र विकासको लक्ष्यसमेत प्रभावित हुन्छ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले बल प्रयोग, धम्की तथा दमनकारी शैलीमा बस्ती हटाउने प्रयास संविधानविपरीत हुने जिकिर गर्दै यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुग्ने बताएका छन्। नागरिकमाथि लाठी, बुट वा बन्दुकको डर देखाएर विस्थापन गराउने कार्यलाई ‘राज्य आतंक’को संज्ञा दिँदै उनले सरकारको कदम निरंकुश चरित्रतर्फ उन्मुख भएको आरोप समेत लगाएका छन्।

श्रम संस्कृति पार्टीले यस्ता मानव अधिकारविरोधी गतिविधिको कडा निन्दा, भर्त्सना तथा विरोध गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया