शंखरापुर, काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शंखरापुर नगरपालिकाको प्रथम नगर अधिवेशन बुधबार सम्पन्न भएको छ। शंखरापुर नगरपालिका वडा नं. ३ स्थित जहरसिंपौवा सामुदायिक भवनको सभाहलमा बिहान ८:३० बजेदेखि सुरु भएको अधिवेशन लोकतान्त्रिक निर्वाचन प्रक्रियामार्फत नयाँ नगर कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो।
अधिवेशन पार्टीका नगर सभापति सुरेश मानन्धरको सभापतित्व तथा काठमाडौँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुनिल केसी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष सुमन थापा लगायत शंखरापुर नगरपालिकाका नौवटै वडा समितिका अध्यक्ष, पदाधिकारी, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अधिवेशनमा बोल्दै प्रमुख अतिथि सांसद सुनिल केसीले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता अझ बढ्दै गएको उल्लेख गर्दै स्थानीय तहमा सुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्व निर्माणका लागि पार्टी संगठनलाई बलियो बनाउनुपर्ने बताएका थिए। उनले युवापुस्ताको सक्रिय सहभागिताले नयाँ राजनीतिक संस्कार र आशाको सन्देश दिएको धारणा व्यक्त गरे।
कार्यक्रममा सहभागी नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले जनअपेक्षा अनुरूप काम गर्दै स्थानीय तहका समस्या समाधान, विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन तथा युवा रोजगारीका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।
अधिवेशनअन्तर्गत भएको प्रजातान्त्रिक निर्वाचनबाट हरिचन्द्र थापा नगर सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी अमृता खड्का उपसभापति, रूपक पोखरेल सचिव तथा विनोद ढकाल सहसचिवमा चयन भएका छन्।
यस्तै सदस्यहरूमा लक्ष्मण भण्डारी, राजकुमार पोखरेल, सादराम चौलागाईं, विद्यामान श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ तथा वर्षा कार्की निर्वाचित भएका छन्।
निर्वाचन सम्पन्न भएलगत्तै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पार्टीको विधानअनुसार शपथ ग्रहण गराइएको थियो। शपथ ग्रहणपछि नवगठित नगर कार्यसमितिले औपचारिक रूपमा कार्यभारसमेत ग्रहण गर्दै संगठन सुदृढीकरण तथा जनमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
नवनिर्वाचित नगर सभापति हरिचन्द्र थापाले शंखरापुर नगरपालिकाभित्र पार्टी संगठनलाई अझ बलियो बनाउँदै जनताको विश्वास जित्ने गरी सक्रिय रूपमा काम गर्ने बताएका छन्। उनले नगरका सबै वडामा संगठन विस्तार, जनसहभागिता वृद्धि तथा स्थानीय मुद्दामा प्रभावकारी आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
अधिवेशन उत्साहपूर्ण, शान्तिपूर्ण तथा लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी कार्यकर्ताहरूले नयाँ नेतृत्व चयनसँगै शंखरापुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन थप सशक्त र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका थिए।