शंखरापुर, काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शंखरापुर नगर कार्यसमितिले संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ पार्टीबाट निर्वाचित तीनै जना वडा अध्यक्षलाई नगर उपाध्यक्षसहित विभिन्न विभागीय जिम्मेवारी प्रदान गरेको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको अनुभव, नेतृत्व क्षमता र जनसम्पर्कलाई संगठन विस्तार तथा पार्टी सुदृढीकरणमा प्रभावकारी रूपमा परिचालन गर्ने रणनीतिअन्तर्गत यो निर्णय गरिएको हो।
साउन ६ गते शंखरापुरको धूँल्लाटोलमा रहेको नगर कार्यालयमा नगर अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो। बैठकले संगठनलाई समयानुकूल, उत्तरदायी तथा जनस्तरमा अझ प्रभावकारी बनाउने लक्ष्यका साथ विभागीय जिम्मेवारीहरू वडा अध्यक्षहरूलाई हस्तान्तरण गरेको जनाएको छ।
निर्णयअनुसार वडा नं. ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठलाई नगर उपाध्यक्ष तथा आर्थिक व्यवस्थापन विभाग संयोजक, वडा नं. ६ का अध्यक्ष तथा नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठलाई नगर उपाध्यक्ष तथा संगठन विभाग संयोजक, तथा वडा नं. ३ का अध्यक्ष सूर्यबहादुर तामाङलाई नगर उपाध्यक्ष तथा प्रचारप्रसार विभाग संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
नगर अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले पार्टीको सांगठनिक संरचनालाई थप सुदृढ, अनुशासित र जनमुखी बनाउने लक्ष्यअनुसार जिम्मेवारी बाँडफाँड गरिएको स्पष्ट पार्दै स्थानीय तहका जनप्रतिनिधिको अनुभवलाई पार्टी संगठनको विकासमा उपयोग गर्न खोजिएको बताए।
उनले भने, "हाम्रो पार्टीमा अध्यक्षता प्रणाली भए पनि संगठनलाई अझ सुदृढ, सक्रिय र बलियो बनाउन अधिकारको उचित बाँडफाँड आवश्यक ठानेका छौँ। यही सोचका साथ शंखरापुर नगर कार्यसमितिले विभागीय जिम्मेवारीसहित नेतृत्व विस्तार गरेको हो। यसले संगठनलाई थप गतिशील र प्रभावकारी बनाउने विश्वास लिएका छौँ।"
बैठकमा नगर कार्यसमितिका पदाधिकारी, सदस्य तथा स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवनियुक्त नगर उपाध्यक्षहरूले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने, संगठन विस्तारलाई तीव्रता दिने, कार्यकर्तालाई सक्रिय बनाउने तथा जनताका सरोकारका विषयमा जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राप्रपा शंखरापुर नगर कार्यसमितिको यो निर्णयलाई स्थानीय तहमा पार्टी संगठनलाई पुनः सक्रिय, व्यवस्थित र जनउत्तरदायी बनाउने अभियानका रूपमा हेरिएको छ। जिम्मेवारीको स्पष्ट बाँडफाँडले संगठन सञ्चालनलाई थप व्यवस्थित बनाउनुका साथै कार्यसम्पादनमा प्रभावकारिता, उत्तरदायित्व र समन्वय बढ्ने अपेक्षा गरिएको छ। स्थानीय राजनीतिक वृत्तमा यस निर्णयलाई राप्रपा शंखरापुरको संगठन विस्तार र संस्थागत सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ।