शंखरापुर, काठमाडौं — जनकवि दुर्गालाल श्रेष्ठको आइतबार राति ९१ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समयदेखि बिरामी रहनुभएका श्रेष्ठको बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लले जानकारी दिनुभयो।
नेपालभाषा साहित्यका क्षेत्रमा विगत साढे सात दशकदेखि निरन्तर सक्रिय श्रेष्ठ कवि, गीतकार, नाटककार तथा लेखकका रूपमा स्थापित हुनुहुन्थ्यो। नेपालभाषासँगै नेपाली भाषामा समेत कविता, गीत, नाटकलगायत विभिन्न विधामा कलम चलाउनुभएका उहाँको सिर्जनाले नेपाली साहित्य र भाषिक आन्दोलनमा विशिष्ट योगदान पुर्याएको छ।
नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’को उपाधिबाट सम्मानित गरेको थियो। नेपालभाषामा उहाँका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्। ‘पिजा’, ‘जी स्वयम्भू त्वथ’, ‘याका फलेचा’, ‘इन्क्लाब्य पलासा’, ‘ट्विस्ट र टर्न’, ‘दुर्गालाल श्रेष्ठका कविताहरू’, ‘चिनियाम्हा किसिचा’, ‘तैभाबा’, ‘चिनिया चम्पा’, ‘कुलिकासा’, ‘सालछ्योन्या बेला’, ‘माछाबखाँचा’, ‘सन्ताया कुसा’, ‘टपाका’ र ‘जंगल कविता’ उहाँका चर्चित कृतिमध्ये पर्छन्।
श्रेष्ठको सिर्जनात्मक योगदानमध्ये ‘फूलको आँखामा फूलै संसार’ र ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ जस्ता गीत विशेष लोकप्रिय छन्। विशेषगरी ‘फूलको आँखामा फूलै संसार’ पछिल्लो समय व्यापक रूपमा चर्चित भएपछि उहाँको परिचय नेपालभित्र मात्र नभई नेपालबाहिरसमेत फैलिएको थियो। यद्यपि उहाँको साहित्यिक व्यक्तित्व उक्त एउटा गीतमा मात्र सीमित थिएन। प्रेम, क्रान्ति, सामाजिक आन्दोलन, दर्शन, अध्यात्मदेखि जीवन र मृत्युबोधसम्मका विविध भाव उहाँका सिर्जनामा अभिव्यक्त भएका छन्।
श्रेष्ठको जीवन नेपालभाषा, भाषिक समानता र पहिचानको आन्दोलनसँग पनि अभिन्न रूपमा जोडिएको थियो। उहाँ आफूलाई केवल साहित्यकारभन्दा भाषिक आन्दोलनको ‘सिपाही’का रूपमा चिनाउन रुचाउनुहुन्थ्यो। त्यसैले उहाँको जीवन र सिर्जना नेपालभाषाको साहित्यिक इतिहाससँगै नेपालको भाषिक तथा पहिचान आन्दोलनको महत्वपूर्ण अध्यायका रूपमा लिइन्छ।
नेपालभाषा काव्यको पुरानो र नयाँ पुस्तालाई जोड्ने सेतुका रूपमा समेत श्रेष्ठलाई स्मरण गरिन्छ। प्रेमकाव्यबाट साहित्यिक यात्रा प्रारम्भ गर्नुभएका उहाँका सिर्जना समयक्रममा सामाजिक चेतना, विद्रोह, आन्दोलन, दर्शन र अध्यात्मसम्म विस्तार भएका थिए। सात दशकभन्दा लामो उहाँको निरन्तर काव्ययात्रालाई नेपालभाषाको आधुनिक काव्य प्रवाहकै अविच्छिन्न इतिहासका रूपमा समेत मूल्याङ्कन गरिन्छ।
श्रेष्ठको जीवन र साहित्यबारे लेखक आर. मानन्धरद्वारा लिखित ‘कवि–कविताको छवि : दुर्गालाल श्रेष्ठ’ नामक जीवनीकृतिसमेत प्रकाशित छ। उक्त कृतिमा श्रेष्ठको बाल्यकाल, पारिवारिक अवस्था, साहित्यिक यात्रा, सिर्जनाका पृष्ठभूमि, भाषिक आन्दोलनमा उहाँको भूमिका तथा विभिन्न व्यक्तित्वसँगको सम्बन्धलाई समेटिएको छ।
काठमाडौंको मध्यसहरका रैथाने भए पनि अत्यन्त सामान्य आर्थिक अवस्थाको परिवारमा जन्मिनुभएका श्रेष्ठको बाल्यकाल संघर्षपूर्ण थियो। यही संघर्षका बीच उहाँभित्रको साहित्यिक प्रतिभा क्रमशः विकसित हुँदै गएको जीवनीकृतिमा उल्लेख गरिएको छ। ११ वर्षको उमेरमा टोलमा प्रदर्शन हुने दबु प्याखंको रिहर्सल हेर्ने क्रममा आँखामा चोट लागेपछि साथीहरूसँग मिलेर नाटक गर्ने सोच बनेको र त्यसको लेखनको जिम्मेवारी उहाँले लिएको प्रसंगलाई उहाँको साहित्यिक यात्राको महत्वपूर्ण प्रारम्भिक घटनाका रूपमा लिइन्छ।
त्यसै घटनाबाट सुरु भएको नाटक लेखन पछि कविता र साहित्यको व्यापक यात्रामा परिणत भयो। उहाँका सिर्जनाका पछाडि तत्कालीन सामाजिक परिवेश, व्यक्तिगत अनुभव र जीवनका विभिन्न घटनाको गहिरो प्रभाव देखिन्छ। प्रेम उहाँको सिर्जनाको प्रारम्भिक र प्रमुख भावभूमि भए पनि समयसँगै उहाँको लेखन सामाजिक परिवर्तन, क्रान्ति, आन्दोलन, दर्शन र अध्यात्मतर्फ उन्मुख भएको पाइन्छ।
जीवनको उत्तरार्धमा उहाँका कवितामा मृत्युबोधसमेत गहिरिँदै गएको थियो। यही भावभूमिमा ‘संघारैनेर’ कविता सङ्ग्रह प्रकाशित भएको थियो। जीवनका विविध अनुभूति, सम्बन्ध र घटनालाई साहित्यिक अभिव्यक्तिमा रूपान्तरण गर्ने उहाँको विशिष्ट क्षमता नेपाली तथा नेपालभाषी साहित्यमा स्मरणीय रहनेछ।
श्रेष्ठको साहित्यिक यात्रामा सहिद शुक्रराज शास्त्री, महाकवि सिद्धिदास अमात्य, केदारनाथ न्यौपाने, पुष्पलाल श्रेष्ठ, मङ्गलमान प्रधानलगायतका व्यक्तित्वको प्रभाव र सम्बन्धसमेत देखिन्छ। ऐतिहासिक पात्र तथा सामाजिक घटनालाई सिर्जनाको विषय बनाउँदै उहाँले साहित्यलाई आफ्नो समय र समाजसँग जोड्नुभएको थियो।
‘फूलको आँखामा फूलै संसार’ गीतसमेत उहाँ, गायिका आनी छोइङ डोल्मा र सङ्गीतकार न्ह्यू बज्राचार्यबीचको सांगीतिक सहकार्यका क्रममा छोटो समयमै सिर्जना भएको प्रसंग चर्चित छ। सरल शब्द, गहिरो दर्शन र मानवीय संवेदनाले भरिएको उक्त गीतले श्रेष्ठको काव्यिक सामर्थ्यलाई नयाँ पुस्तामाझ समेत पुर्याएको थियो।
श्रेष्ठको साहित्यिक योगदान केवल पुस्तक र गीतमा सीमित छैन। उहाँले काठमाडौंको सामाजिक, सांस्कृतिक र भाषिक रूपान्तरणलाई नजिकबाट नियाल्दै त्यसलाई आफ्ना सिर्जनामा अभिव्यक्त गर्नुभएको थियो। त्यसैले उहाँको जीवन काठमाडौंको सांस्कृतिक इतिहास, नेपालभाषाको आधुनिक साहित्य र भाषिक पहिचानको आन्दोलनसँग गाँसिएको एउटा जीवन्त दस्तावेजका रूपमा समेत लिइन्छ।
जीवनको अन्तिम समयसम्म सिर्जनामा सक्रिय रहनुभएका श्रेष्ठले साहित्यलाई समाज, भाषा, पहिचान र मानवीय संवेदनासँग जोडेर अघि बढाउनुभयो। उहाँको निधनसँगै नेपालभाषा साहित्यले एउटा युगीन स्रष्टा गुमाएको छ भने नेपाली साहित्यले पनि बहुभाषिक चेतना र सांस्कृतिक पहिचानलाई बलियो बनाउने महत्वपूर्ण स्रष्टालाई गुमाएको छ।
आफ्नो जीवनीकृतिबारे स्वयं श्रेष्ठले व्यक्त गर्नुभएको भनाइ पनि उहाँको साहित्यिक जीवनको गहिराइ झल्काउने खालको छ— “म अब यो शरीरमा हैन, त्यो किताबमा छु। लेखकले मलाई शतप्रतिशत किताबमा उतार्नुभएको छ।”
जनकवि श्रेष्ठको निधनले नेपालभाषा साहित्य, नेपाली साहित्य र भाषिक–सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उहाँका सिर्जना, विचार र साहित्यिक योगदान भने आगामी पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा दीर्घकालसम्म जीवित रहनेछन्।