काठमाडौं–२ मा कांग्रेस एकजुट, फुँयालको पक्षमा उत्साह।

lawanyasandesh.com

आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसको संगठनात्मक सक्रियता, कार्यकर्ताको उत्साह र जनसम्पर्कको तीव्रताले चुनावी माहोल तातेको छ। क्षेत्रभर फैलिएको राजनीतिक–सामाजिक भूगोललाई केन्द्रमा राख्दै कांग्रेसले विशाल निर्वाचन परिचालन संरचना खडा गरेको छ, जसले पार्टी एकजुट भएर खम्बा सरि उभिएको स्पष्ट संकेत दिएको छ। उपस्थित नेता तथा कार्यकर्ताको उमङ्ग र प्रतिबद्धताले यसपटक कांग्रेसका उम्मेदवार कबिर शर्मा फुँयालले बाजी मार्ने छनक देखिएको विश्लेषण गर्न थालिएको छ।
नेपाली कांग्रेसले संविधानसभा सदस्य दीपक प्रसाद कुइँकेलको संयोजकत्वमा ५ हजार ५ सय ५५ सदस्यीय वृहत् निर्वाचन परिचालन समिति गठन गरेको घोषणा गरेको छ। सह–संयोजकका रूपमा शंकर थापा, मनीष कोइराला र गोविन्द बहादुर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ भने सचिवमा विश्वनाथ खनाल, सीताराम आचार्य, दीपक दुलाल र आर्थिक संयोजकमा होमनाथ गौतम (कमल) रहेका छन्। यस्तो व्यापक संरचनाले कांग्रेसले चुनावलाई केवल प्रतिस्पर्धा नभई अभियानका रूपमा लिएको देखिन्छ।
काठमाडौं–२ बाट कांग्रेसको उम्मेदवार बनेका कबिर शर्मा फुँयाल क्षेत्रीय सभापति समेत हुन् र लामो समयदेखि स्थानीय सामाजिक–राजनीतिक गतिविधिमा जमेका अनुहारका रूपमा परिचित छन्। स्थानीय भूगोल, बस्तीको बनावट, विकासका असन्तुलन र नागरिकका दैनिक समस्या नजिकबाट बुझेका उम्मेदवारका रूपमा उनी प्रस्तुत भएका छन्। उनले जनताको भरोसा, परिवर्तनको चाहना र विकासको आकांक्षालाई संसद्सम्म पुर्‍याउने आफ्नो मूल प्रतिबद्धता रहेको बताएका छन्।
शहरी स्वरूप भए पनि काठमाडौं–२ भित्र विकासको असमान वितरण, सेवा–सुविधामा पहुँचको अन्तर, अव्यवस्थित पूर्वाधार र व्यवस्थापन कमजोरीका कारण नागरिकले भोग्दै आएका समस्या चुनावी बहसको केन्द्रमा ल्याइने उनको योजना छ। प्राविधिक शैक्षिक पृष्ठभूमि भएका भूगर्भविद् शर्मासँग वातावरण, भू–संरचना र पूर्वाधार विकाससम्बन्धी व्यावहारिक ज्ञान रहेको समर्थकहरूको दाबी छ।
निर्वाचन परिचालन समितिका संयोजक कुइँकेललाई उम्मेदवार शर्माको चुनावी कमाण्डरको भूमिकामा अघि सारिएको छ। घरदैलो, प्रत्यक्ष संवाद, सुझाव संकलन र समुदाय–केन्द्रित रणनीति निर्माणमार्फत मतदातासँग भावनात्मक र नीतिगत दुवै तहमा सम्बन्ध मजबुत बनाउने योजना अघि सारिएको छ।

प्रतिक्रिया