विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनप्रति महावीर पुनको स्वागत : “नेपाललाई उत्पादक राष्ट्र बनाउने अवसर”

lawanyasandesh.com

साँखु,काठमाण्डौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अभियन्ता महावीर पुन ले सरकारले गठन गरेको ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ लाई नेपालको विकासका लागि ऐतिहासिक कदमको रूपमा स्वागत गरेका छन्।

उनले आफ्नो फेसबुक पेजमार्फत धन्यवाद व्यक्त गर्दै नेपाललाई परनिर्भर अर्थतन्त्रबाट आत्मनिर्भर र उत्पादनमुखी राष्ट्रतर्फ लैजान यो मन्त्रालय प्रभावकारी बन्नुपर्ने धारणा राखेका हुन्।

पुनले नेपालमा सामान्य उपभोग्य वस्तुसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै योग्य तथा दक्ष युवाहरू रोजगारीका लागि खाडी मुलुकमा पसिना बगाउन बाध्य भएको यथार्थप्रति चिन्ता व्यक्त गरेका छन्। अब विज्ञान, प्रविधि र नवप्रवर्तनमार्फत स्वदेशमै अवसर सिर्जना गरेर युवाशक्तिलाई देशभित्रै उपयोग गर्नुपर्ने उनको भनाइ छ।

उनले मन्त्रालय गठनलाई मात्र उपलब्धि मानेर नबस्न आग्रह गर्दै यसको सफल सञ्चालन नै अबको मुख्य चुनौती भएको बताएका छन्। “यो मन्त्रालयलाई दक्षताका साथ चलाउन सकियो भने मात्रै देशले वास्तविक उपलब्धि हासिल गर्न सक्छ,” उनले उल्लेख गरेका छन्।

पुनले वैज्ञानिक, अनुसन्धानकर्ता तथा नवप्रवर्तनमा रुचि राख्ने युवाहरूलाई समेत सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्। उनले आगामी दिनमा मन्त्रालयले प्राथमिकताका साथ काम गर्नुपर्ने केही मुख्य विषयहरू पनि औंल्याएका छन्।

उनका अनुसार अनुसन्धान र आविष्कारका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने, वैज्ञानिक काममा देखिने कर्मचारीतन्त्रीय ढिलासुस्ती अन्त्य गर्नुपर्ने तथा नेपालमै बनेका सफ्टवेयर, उपकरण र प्रविधिलाई सरकारी निकायहरूले पहिलो प्राथमिकता दिने नीति लागू गरिनुपर्ने आवश्यकता छ।

त्यसैगरी गाउँ–गाउँमा लुकेर रहेका प्रतिभाशाली आविष्कारक र अनुसन्धानकर्ताहरूलाई खोजी गरी राष्ट्रिय मूलधारमा जोड्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

पुनले सरकारको यो निर्णयले नेपाललाई ‘उपभोक्ता राष्ट्र’ बाट ‘उत्पादक राष्ट्र’ मा रूपान्तरण गर्ने आधार तयार पार्ने विश्वास व्यक्त गरेका छन्। साथै उनले यसअघि असन्तुष्टिका कारण व्यक्त गरेका कठोर टिप्पणीहरूलाई अब सकारात्मक ऊर्जा र आशामा रूपान्तरण गर्दै देश निर्माणको यात्रामा सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

उनको उक्त अभिव्यक्तिलाई सामाजिक सञ्जालमा धेरैले सकारात्मक रूपमा लिएका छन् भने विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रमा काम गर्ने समुदायले पनि मन्त्रालय गठनलाई दीर्घकालीन रूपमा महत्वपूर्ण कदमका रूपमा हेरेका छन्।

प्रतिक्रिया