साँखु,काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नं. २ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा आयोजित शंखरापुर ६ ईकाईको एक कार्यक्रमका वक्ताहरूले नेपाली कांग्रेस लाई जनताको हित, लोकतन्त्रको रक्षा र राष्ट्रिय एकताको पक्षमा निरन्तर उभिएको पार्टी भएको दाबी गर्दै यसपटक पनि कांग्रेसलाई समर्थन गर्न मतदातासमक्ष अपिल गरेका छन्।
कार्यक्रममा बोल्दै वक्ताहरूले नेपाली कांग्रेसले करिब आठ दशकदेखि जनताको सेवा गर्दै आएको, राजनीतिक उतारचढावका बीच पनि लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा अडिग रहेको उल्लेख गरे। जनताको भावना, आवश्यकता र राष्ट्रिय संवेदनशीलता बुझ्ने क्षमता कांग्रेससँग रहेको उनीहरूको भनाइ थियो।
भूराजनीतिक अवस्थाका कारण नेपाल संवेदनशील चरणमा रहेको उल्लेख गर्दै वक्ताहरूले राष्ट्रिय सार्वभौमसत्ता, अखण्डता र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि अनुभवी नेतृत्व आवश्यक पर्ने बताए। गलत सूचना (मिसइन्फर्मेसन) र भ्रामक प्रचार (डिसइन्फर्मेसन) बाट समाज प्रभावित भइरहेको भन्दै सही सूचना र तथ्यमा आधारित राजनीतिक चेतना विकास गर्नुपर्नेमा जोड दिइयो।
कार्यक्रममा पछिल्लो मत–सर्वेक्षण र राजधानीको राजनीतिक प्रभाव देशव्यापी रूपमा फैलिने दाबी गर्दै यसपटक कांग्रेस पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरियो। पार्टीभित्र युवा नेतृत्व उदाएको उल्लेख गर्दै विशेषगरी गगन थापा लगायतका नेताहरूको सक्रियताले सुधार र समृद्धिको एजेण्डा अगाडि बढाएको धारणा राखियो।
काठमाडौं–२ का उम्मेदवार कविर शर्मा लाई स्थानीय माटोमा हुर्किएको, शिक्षित र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने उम्मेदवारका रूपमा प्रस्तुत गर्दै रुख चिन्हमा मतदान गर्न अपिल गरिएको छ। बाहिरबाट आएका भन्दा आफ्नै क्षेत्रमा काम गर्ने प्रतिबद्धता बोकेका उम्मेदवारलाई रोज्नुपर्ने तर्क समेत राखियो।
विकास योजनाअन्तर्गत साँखु क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको छ। प्राचीन धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य प्रस्तुत गरियो। यस क्रममा बज्रयोगी क्षेत्र, शालीनदी मेला, स्थानीय जात्रा–पर्व र तीर्थस्थलको व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताइएको छ।
शिक्षा क्षेत्रमा सीपमूलक र आत्मनिर्भर शिक्षामा जोड दिँदै विद्यालय तहबाटै कमाउँदै पढ्ने मोडेल लागू गर्नुपर्ने धारणा राखियो। यस प्रकारको अभ्यास कान्तिपुर एकेडेमी मा समेत सुरु भइसकेको उदाहरण प्रस्तुत गरिएको थियो।
त्यसैगरी बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न समयमै गुरुयोजना आवश्यक रहेको, वातावरण संरक्षणसम्बन्धी अध्ययन र योजना कार्यान्वयन गर्न सक्ने नेतृत्व रोज्नुपर्नेमा जोड दिइयो। शंखरापुर उत्तर–पूर्व क्षेत्रको समग्र विकासमा आफूहरू प्रतिबद्ध रहने र घरदैलो अभियानमार्फत मतदातासँग निरन्तर संवाद गर्ने प्रतिबद्धता समेत कार्यक्रममा व्यक्त गरिएको थियो।