साँखु,काठमाण्डौं।ललितपुरको हरिसिद्धीस्थित इट्टाभट्टामा वाल भत्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
ललितपुर महानगरपालिका–८ हरिसिद्धीमा रहेको होसना इट्टाभट्टामा काम गर्ने क्रममा अचानक वाल भत्किँदा रूकुम घर भई त्यहाँ कार्यरत ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए। घाइते अवस्थामा उनलाई उपचारका लागि अस्पताल लगिएको थियो तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा अन्य चार जना महिला घाइते भएका छन्। घाइते हुनेहरूमा सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर, दाङकी १९ वर्षीया सुमा कुमाल र रूकुमकी २७ वर्षीया जानकी चन्द रहेका छन्।
घाइतेमध्ये शान्ति कुँवर, नन्दकुमारी मगर र सुमा कुमालको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। जानकी चन्दलाई थप उपचारका लागि मोडल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इट्टाभट्टाको वाल अचानक भत्किँदा मजदुरहरू पुरिएको प्रारम्भिक जानकारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।